भृकुटीमण्डप जग्गा भाडामा पूर्व मन्त्रीदेखि सांसदसम्म दोषी, नौ वर्षसम्म कैद तोकियो
काठमाडौँ : भृकुटीमण्डपको जग्गा भाडा दिँदा अनियमितता भएको ठहर गर्दै विशेष अदालतले पूर्व मन्त्री र निलम्बित सांसदसहित नौ जनालाई दोषी ठहर गरेको छ।
पूर्व मन्त्री बद्री न्यौपानेलाई सो प्रकरणको मुख्य योजनाकार ठहर्याउँदै साढे ९ वर्ष ६ महिना कैद सजाय तोकेको छ।
भृकुटीमण्डपस्थित समाज कल्याण परिषद्को ६० रोपनी जग्गा भाडामा लगाउँदा प्रचलित मापदण्ड र प्रक्रिया विपरीत क्रियाकलाप गरी सरकारलाई हानी नोक्सानी पुर्याएको उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरेर ३१ करोड ५२ लाख रुपैयाँभन्दा बढीको भ्रष्टाचार भएको मागदावी गरेको थियो।
न्यौपानेले तत्कालीन महिला, बालबालिका तथा समाज कल्याणमन्त्रीका रूपमा जग्गा भाडाको निर्णय गरेका थिए। उनलाई जरिवाना र बिगो असुलउपर हुने फैसला भएको हो। उनलाई २ करोड ४३ लाख ६८ हजार रुपैयाँभन्दा बढी बिगो र जरिवाना समेत तोकिएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७५ माघ २१ मा १४ जनालाई प्रतिवादी कायम गरी मुद्दा दर्ता गरेको थियो। भ्रष्टाचार मुद्दामा फागुन १६ मा फैसला भए पनि बिहीबार मात्र सजाय निर्धारण गरिएको हो।
विशेषले ९ जनालाई दोषी ठहर गर्दै ५ जनालाई भने सफाइ दिएको हो। विशेषका अध्यक्ष श्रीकान्त पौडेल तथा सदस्यद्वय शालिग्राम कोइराला र बलभद्र बास्तोलाको इजलासले भृकुटीमण्डपको जग्गामा मेला सञ्चालन गरेका व्यवसायी तथा काँग्रेस सांसद टेकबहादुर गुरुङलाई दोषी ठहर गरे पनि कैद भने तोकेन।
अदालतले उनलाई एक करोड २१ लाख ८४ हजार रुपैयाँ जरिवाना र उति नै रकम बिगो असुलउपर गर्ने फैसला सुनाइएको छ। समाज कल्याण परिषद्का तत्कालीन उपाध्यक्ष प्रमोद मेहतालाई ८ वर्ष कैद तथा थप ६ महिना कैद, तत्कालीन कोषाध्यक्ष कुञ्जबिहारीप्रसाद चौधरीको मृत्यु भइसकेकाले केवल बिगो असुलउपर मात्र गर्न आदेश दिएको छ। उनलाई पनि २ करोड ४३ लाख ६८ हजार रुपैयाँभन्दा बढी बिगो र जरिवाना तोकिएको हो।
तत्कालीन सदस्यसचिव र इन्जिनियर रवीन्द्रप्रसाद यादवलाई ८ वर्ष तथा थप ६ महिना कैद र २ करोड ४३ लाख ६८ हजार रुपैयाँभन्दा बढी बिगो र जरिवाना र तत्कालीन सदस्य मोहनराज शर्मालाई पनि उति नै जरिवाना र बिगो तथा ८ वर्ष कैद सजाय सुनाइएको छ।
अर्का सदस्य मदनकुमारलाई कर्णलाई पनि उति नै सजाय र बिगो तथा जरिवाना तोकियो। सदस्य हरि न्यौपानेलाई ८ वर्ष कैद भए पनि बिगो र जरिवानाको सजाय भएन। भृकुटीमण्डपमा मेलाका प्रमुख सञ्चालक रवीन्द्र गुरुङलाई १ करोड २१ लाख रुपैयाँभन्दा बढी बिगो र जरिवानाको सजाय सुनाइयो।
फागुन २५, २०७९ बिहीबार १९:५७:३१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।