अमेरिकाबाट नेपालमा गाँजा तस्करी, चकलेट र खेलौनामा ६ किलो फेला पर्यो
काठमाडौं : लागू औषध तस्करहरूले नेपालबाट विभिन्न देश हुँदै अमेरिकामा गाँजा तस्करी गर्दै आएका थिए। तर अब नेपालबाट हैन अमेरिकाबाट नेपालमा गाँजा तस्करी हुन थालेको छ।
तस्कर समूहले चकलेट अनि बालबालिकाको खेलौना भनेर अमेरिकी गाँजा नेपालमा ल्याएका हुन्। चकलेट अनि खेलौना भनेर अमेरिकाबाट आएको दुई वटा पार्सलमा प्रहरीले ६ किलो बढी गाँजा फेला पार्यो।
अमेरिकाबाट नेपालमा गाँजा तस्करी हुने सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्युरोले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयमा आएका पार्सलको निगरानी गर्दा अमेरिकी गाँजा फेला परेको हो।
ब्युरोका प्रहरी उपरीक्षक चक्रराज जोशीका अनुसार अमेरिकी गाँजा नेपाल ल्याएको आरोपमा एक भारतीय नागरिकसहित तीन जना पक्राउ परेका छन्।
ब्युरोका अनुसार अमेरिकाबाट दुबई हुँदै नेपाल ल्याइएको चकलेट र बालबालिकाको खेलकुद सामग्री उल्लेख गरिएको पार्सलबाट चार दशमलव पाँच किलो गाँजा फेला परेको थियो। विमानस्थलको भन्सारमा पार्सल लिन आएका भारत गुजरातका ३० वर्षीय निमेष अशोक भाइ र सर्लाहीको हरिहरपुरका २८ वर्षीय फैज आलम पक्राउ परे।
उनीहरू बस्दै आएको ठमेलको होटल खानतलासी गर्दा एक लाख ४० हजार भारतीय रुपैयाँ फेला पर्यो। यसैगरी अमेरिकाबाट आएको अर्को पार्सल जाँच गर्दा दुई दशमलव चार किलो गाँजा फेला पर्यो।
दोस्रो पार्सलको घटनामा गोरखाका रूपक अर्याल पक्राउ परे। भारतीय र नेपाली एकै समूहका हुन् या अलग-अलग खुलेको छैन। सो गाँजा भारतीय बजार लक्षित हो या नेपाली बजार त्यो पनि खुलेको छैन।
फागुन २५, २०७९ बिहीबार ०८:२३:२२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।