अल्मुताइरी वर्षकै उत्कृष्ट प्रशिक्षक
काठमाडौं : नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीका पूर्व प्रशिक्षक अब्दुल्लाह अलमुताइरी बजाज पल्सर स्पोर्ट्स अवार्ड २०७८ वर्षको उत्कृष्ट प्रशिक्षक घोषित भएका छन्।
नेपाल खेलकुद पत्रकार मञ्चले हरेक वर्ष आयोजना गर्ने अवार्ड अन्तरगत उनी वर्ष २०७८ को उत्कृष्ट प्रशिक्षक बनेका हुन्।
वर्षको उत्कृष्ट प्रशिक्षक बन्ने क्रममा अलमुताइरीले भलिबलका जगदिश प्रसाद भट्ट, बक्सिङका दीपक महर्जन, पारा तेक्वान्दोका कविराज नेगी लामा र क्रिकेटका देव ह्वाटमोरलाई पछि पारे।
अलमुताइरीको प्रशिक्षणमा नेपालले पहिलो पटक एएफसी एसियन कप २०२३ को छनोटको तेस्रो चरणसम्म पुगेको थियो। उनकै प्रशिक्षणमा नेपाल एसिया कपको छनोटसम्म पुगेको थियो।
माल्दिभ्समा भएको १३औं साफ च्याम्पियनसिपमा नेपालले पहिलो पटक फाइनलमा पुगेर इतिहास बनाउन उनी टोलीका प्रमुख प्रशिक्षक थिए।
अलमुताइरीकै प्रशिक्षणमा नेपालले अफ्रिकी राष्ट्र मरिससविरुद्धको दुई अन्तर्राष्ट्रिय मैत्री शृङ्खलामा जित निकाल्न सफल भएको थियो।
यो नेपालले पहिलो पटक अफ्रिकी राष्ट्रमाथि दुई जित निकालेको पहिलो अवसर थियो।
फागुन २३, २०७९ मंगलबार २१:४५:५४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।