अभिनेत्री निशाले श्रीमान् शरद्विरुद्ध हालिन् अंश मुद्दा, अदालतले मगायो सम्पत्तिको फाँटवारी

अभिनेत्री निशाले श्रीमान् शरद्विरुद्ध हालिन् अंश मुद्दा, अदालतले मगायो सम्पत्तिको फाँटवारी

काठमाडौं :अभिनेत्री निशा अधिकारीले श्रीमान् क्रिकेटर शरद भेषावकरविरुद्ध अंशबन्डाको मुद्दा दायर गरेको खुलेको छ। उनले काठमाडौं जिल्ला अदालतमा शरदविरुद्ध आफू र आफ्नो सन्तानको नाममा अंश माग गर्दै मुद्दा दायर गरेकी हुन्। उनको मुद्दामा अदालतले सम्पत्तिको फाँटवारी माग गर्न समेत आदेश दिइसकेको खुलेको छ।

निशाले सम्बन्ध विच्छेदको माग भने गरेकी छैनन्। उनले नाबालक छोरासमेतलाई अंश भाग लगाउनुपर्ने माग गर्दै शरदविरुद्ध भदौ २८ मा मुद्दा हालेको अदालतको रेकर्डमा उल्लेख छ।

अदालतको वेबसाइटमा राखिएको विवरण अनुसार उनको माग अनुसार न्यायाधीश कमलप्रसाद ज्ञवालीको एकल इजलासले फाँटवारी झिकाउन आदेश दिएको देखिन्छ।

नेपाली चलचित्र क्षेत्रमा अलग पहिचान बनाउँदै गरेको बेलामा निशा र शरदबिच प्रेम सम्बन्ध सुरु भएको थियो। शरद् नेपाली क्रिकेटको राष्ट्रिय टिमको चर्चित सदस्य थिए। दुबैबिच २०७४ मा विवाह भयो।

उनीहरू अमेरिका गएर छोरा जन्माएपछि नेपाल फर्किएका थिए। अहिले दुवै जना नेपालमै छन्। निशा चलचित्र क्षेत्रमा सक्रिय हुने प्रयासमा छिन् भने शरद् राष्ट्रिय टिममा नअटाउँदा खेल क्षेत्रमा निष्क्रिय छन्।

फागुन २१, २०७९ आइतबार २०:२८:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।