मन्डनदेउपुर नगरपालिकाले सञ्चालन खर्च रोकेपछि लिच्छविकालीन फागुजात्रा संकटमा
काभ्रे : स्थानीय निकायले आर्थिक सहयोग रोक्का गरेपछि ब्रह्मायणी मन्दिरमा लिच्छविकालदेखि सञ्चालन हुँदै आएको फागुजात्रा समस्यामा परेको छ।
काभ्रेपलान्चोकको मण्डनदेउपुर नगरपालिकास्थित मन्दिरमा बर्सेनि फागुजात्रा सञ्चालन गर्न पञ्चायतकालदेखि राज्यले आर्थिक सहयोग उपलब्ध गराउँदै आएको थियो। यसपटक भने पालिकाले रकम उपलब्ध गराउन नमिल्ने भन्दै सञ्चालन खर्च रोक्का गर्ने निर्णय गरेको छ।
पञ्चायतकालमा २० हजार रुपैयाँ जात्रा खर्च उपलब्ध गराउने गरिएकामा वृद्धि हुँदै गत वर्ष ९७ हजार रुपैयाँ उपलब्ध गराइएको थियो।
मण्डनदेउपुरका नगरप्रमुख टोकबहादुर वाइबासँग स्थानीयले सहयोग माग्न जाँदा कुनै ठाउँ विशेषको जात्रा सञ्चालन गर्न आर्थिक सहयोग गर्न नसकिने जवाफ दिएका थिए। यो जात्रा नगरपालिकाको वडा नं. ५ र ६ मा तीन दिनसम्म सञ्चालन हुने परम्परा छ।
मण्डनदेउपुर नगरपालिकाका प्रमुख वाइबाले जात्रा मनाउन सहयोग गर्ने नीति नगरपालिकासँग नभएकाले जात्रालाई सहयोग गर्न नसकिने बताए।
यो जात्रा फागु पूर्णिमामा होलीका दहन भएदेखि नै प्राचीन कालदेखि सुरु भएको मानिँदै आएको छ। पालिकाले जात्रा खर्च उपलब्ध नगराएपछि स्थानीयले जात्रा नमासियोस् भनेर चन्दा उठाउन थालेका छन्।
स्थानीय गोकुल ढकालले परम्परा धान्न र धर्म संस्कृतिलाई जोगाउन चन्दा उठाउनु बाहेक विकल्प नरहेको बताए। ‘जात्रा सञ्चालन गर्न दुई लाख रुपियाँसम्म खर्च हुन्छ। चन्दा उठाउन थालेका छौँ। नगरपालिकाले रकम नदिए पनि जात्रा सञ्चालन गरिछाड्छौँ,’ उनले भने।
विशेष गरी ब्रह्मायणीको मूर्तिलाई मन्दिरबाट गैरीबिसौनासम्म ल्याउने रथ, पञ्चेबाजा व्यवस्थापन, बोका र राँगाको बलिका लागि रकम आवश्यक पर्छ।
ब्रह्मायणी मन्दिर संरक्षण समितिका संयोजक शेरबहादुर डोटेलले वडाले सिफारिस गरेर जात्रा मनाउन सहयोग मागे पनि स्थानीय तहले सहयोग नदिएकाले ऐतिहासिक जात्रालाई निरन्तरता दिन चन्दा उठाउनुको विकल्प नभएको बताए।
काभ्रेपलान्चोक जिल्लाका पुरातत्व संरक्षणमा सक्रिय श्रीकृष्ण धिमालले काभ्रेपलान्चोकमा लिच्छविकालदेखि सञ्चालन हुँदै आएको जात्रालाई रोक्न पालिकाले बजेट कटौती गरेको आरोप लगाउँदै राज्यले प्रोत्साहन गर्नुपर्नेमा उल्टै बजेट कटौती गरेको बताए।
स्थानीय सरकार सञ्चालन ऐनअनुसार आफ्नो पालिका भित्र भएका प्राचीन सम्पदा, जात्रा, परम्परालाई कानुन बनाएर संरक्षण गर्ने अधिकार कानुनले दिँदा दिँदै नगरपालिकाले संरक्षण गर्न छाडेर मेयरले कानुन विपरीत बजेट काट्ने र संरक्षक बन्नुपर्ने ठाउँमा उल्टै भक्षक बनेको धिमालको आरोप छ।
पूर्व मध्यकाल, वि. स. १४०६ मा बङ्गालका सुलतान समसुद्दीन शाहको आक्रमणमा परेर नेपालका धेरै मूर्तिहरू काटिएका र ध्वस्त पारिएका थिए। सोही समयमा ब्रह्मायणीको मूर्ति पनि काटिएको हो।
पुरातत्त्व विभागले २०७२ सालमा मन्दिर उत्खनन गर्दा सो स्थानमा लिच्छविकालीन इँटाहरू पनि फेला परेका थिए। सोही आधारमा उक्त मन्दिर लिच्छविकालको सुरुवातमै निर्माण भएको पुष्टि भएको थियो। भूकम्पका कारण क्षतिग्रस्त भएको मन्दिरको पुनर्निर्माण गरिएको थियो।
फागुन २१, २०७९ आइतबार १४:२८:५१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।