ओखलढुङ्गामा बोलेरो दुर्घटना: दुईको मृत्यु, ११ जना घाइते
काठमाडौं: ओखलढुङ्गामा बोलेरो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। चिशङ्खुगढी गाउँपालिकाबाट ओखलढुङ्गाको सदरमुकाम जाँदै गरेको ना१ज ८४७३ नम्बरको बोलेरो वडा नं. ३ दियालेको राहुटार नजिकै दुर्घटना भएको हो।
दुर्घटनामा परी चिशङ्खुगढी– ३ का ७० वर्षीय भक्तबहादुर थापा र ५२ वर्षीय मीनबहादुर श्रेष्ठको मृत्यु भएको ओखलढुङ्गाका प्रमुख प्रहरी नायब उपनिरीक्षक दीपक केसीले जानकारी दिए।
दुर्घटनामा परी ११ जना घाइते भएका छन्। तीमध्ये केहीलाई उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं पठाइएको चिशङ्खुगढी गाउँपालिकाका अध्यक्ष निशान्त शर्माले बताए। घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ।
पाँच जना यात्रु बोक्ने क्षमता भएको बोलेरोमा १३ जना सवार थिए। क्षमताभन्दा बढी यात्रु बोकेका कारण बालेरो अनियन्त्रित भई दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।
घटनाको विस्तृत जानकारी आउन बाँकी छ।
फागुन २१, २०७९ आइतबार ११:०५:२३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।