स्कुटर चोरी प्रकरण : डीएसपीकै निर्देशनमा चोरविरुद्ध मुद्दा चलाउन नदिइएको छानबिन समितिको निष्कर्ष
दाङ: लुम्बिनी प्रदेश प्रहरी कार्यालयले बनाएको छानबिन समितिले दाङमा भएको स्कुटर चोरी प्रकरणमा प्रहरीले नै चिनजानको आधारमा मुद्दा नचलाई छोडेको निष्कर्ष निकालेको छ। दाङ प्रहरीले स्कुटर चोरलाई बचाएको आरोप लागेपछि प्रहरी प्रधान कार्यालय काठमाडौंले समिति बनाएर छानबिन गर्न निर्देशन दिएको थियो।
कार्यालय प्रमुखकै निर्देशनमा पीडितको समेत सहमति लिएर प्रहरीले स्कुटर चोरलाई चिनजानका आधारमा मुद्दा नचलाई छोड्न निर्देशन दिई मुद्दा ढिसमिस पारेको पुष्टि भएको हो।
लुम्बिनी प्रदेश प्रहरी प्रमुख डीआईजी टेकप्रसाद राईलाई छानबिन समितिले प्रतिवेदन बुझाइसकेको छ। पीडितले पनि स्कुटर चोर आफन्त भएकोले मुद्दा नचलाउन भनेको र प्रहरीले त्यसमा सहजीकरण गरेर मुद्दा मिलाइदिएको छानबिन समितिले निष्कर्ष निकालेको डीआईजी राईले बताए।
उनले भने, ‘कार्यालय प्रमुखकै निर्देशनमा स्कुटर चोरलाई मुद्दा नचलाई छोड्ने काम भएको छ। छानबिन प्रतिवेदन मैले अध्ययन गर्दैछु, छानबिन समितिले औँल्याएका कमजोरीअनुसार नै सुरक्षा अधिकारीलाई विभागीय कारबाही हुन्छ। प्रहरी प्रधान कार्यालयबाट गर्नुपर्ने कारबाहीमा मैले सिफारिस नै गर्छु। प्रहरीको शंकास्पद गतिविधिले संगठन नै बदनाम गर्ने काम भयो।’
चोरलाई मुद्दा नचलाई छोड्ने बेला एसपी वीरबहादुर वली बिदामा थिए। वली बिदामा हुँदा निमित्त प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका डीएसपी राजन गौतमले चोरलाई छोड्न निर्देशन दिएको छानबिन समितिको निष्कर्ष छ।
डीआईजी राईले स्कुटर चोरलाई प्रहरीले नै संरक्षण गरेको सन्देश प्रवाह भएकाले यसमा गलत मनसाय राखेर काम गर्ने प्रहरी अधिकारीलाई कारबाही हुने बताए। सञ्चारमाध्यममा समाचार प्रकाशन भएपछि डीआईजी राईले घटनाबारे ध्यानाकर्षण जनाउँदै प्रहरी प्रधान कार्यालयको निर्देशनमा घटनाबारे सत्य तथ्य छानबिन गर्न समिति बनाएका थिए।
नेपाल प्रहरीका महानिरीक्षक आईजीपी धिरजप्रताप सिंहले स्कुटर चोरी प्रकरणमा चोरलाई जोगाउन प्रहरीको मिलेमतो भए/नभएको बारे छानबिन गरेर कारबाही गर्न प्रदेश प्रहरी प्रमुखलाई निर्देशन दिएपछि प्रदेश प्रहरीमा कार्यरत एसपी नवरत्न पौडेलको नेतृत्त्वमा छानबिन समिति गठन भएको थियो।
नोवेल ट्रेडिङ प्रालिको घोराही–१५ बीपी चोकको टीभीएस शोरूमबाट नचिनेका व्यक्तिले स्कुटर लगेपछि शोरूम सञ्चालकले शोरूमबाट स्कुटर चोरी भएको भन्दै सामाजिक सञ्जालमा आक्रोशसहित लेखेका थिए।
सञ्चालक चित्रबहादुर विष्टका अनुसार दुई लाख ९५ हजार नौ सय मूल्यको एनटर्क स्कुटर चोरी भएको थियो।
पुरानो समाचार
विष्टले सीसी क्यामेरा फुटेजसहित निवेदन जिल्ला प्रहरी कार्यालय दाङमा बुझाएपछि प्रहरीले घोराहीको कटुवाखोलाबाट स्कुटी फेला पारेको थियो।
त्यसको केही दिनपछि प्रहरीले चोरलाई समेत पक्राउ गरेको थियो। माघ २४ गते घोराही- ३ का कुमार रानालाई पक्राउ गरिए पनि मुद्दा नचलाई छाडिएको थियो।
फागुन २१, २०७९ आइतबार १०:५५:१२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।