नारायणगढ–मुग्लिङ सडकखण्ड अब दिउँसो बन्द नहुने

नारायणगढ–मुग्लिङ सडकखण्ड अब दिउँसो बन्द नहुने

काठमाडौं: दिउँसो बन्द गरिँदै आएको नारायणगढ–मुग्लिङ सडकखण्ड आजदेखि बन्द नहुने भएको छ। सडकखण्डको केही स्थानमा भित्तो काट्ने काम  बन्द गर्न लागिएसँगै सडक बन्द नहुने भएको हो।

भित्तो काट्न कठिन भएपछि गत पुष ५ गतेबाट दिउँसो दैनिक ४ घण्टा सडक बन्द गरेर काम हुँदै आएको थियो। पहिलो ३० दिन बिहान ११ बजेबाट दिउँसो ३ बजेसम्म बन्द गरिएको थियो भने त्यसपछि दिउँसो १२ बजेबाट ४ बजेसम्म सडक बन्द गरिएको थियो।

नागढुङ्गा–मुग्लिङ सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिङ) का सूचना अधिकारी ई. कृष्ण आचार्यका अनुसार सवारी रोकेर पाँच ठाउँको पहाड काट्न सुरु गरिएकामा तुइन खोलाको मुग्लिङतर्फको पहाड बाहेक अन्यत्रको काम अन्तिम चरणमा पुगेको छ।

तुइन खोलाको भित्तोलाई विस्फोट गराउन लागिएको जनाइएको छ। तुइन खोलाको पुल निर्माणका क्रममा ६० मिटर अग्लो कडा चट्टानको डाँडो रहेको थियो। सो डाँडोलाई काट्न कठिन भएको हो।

सो पहाडको अझै ४० मिटर काट्न बाँकी छ। यससँगै बाँकी चिसेन्जी खोलाको पुलको आडको देब्रेपट्टीको भित्तो काट्ने काम अन्तिम चरणमा  छ।

सिमलताल, कालीखोला र नाम्ची खोलाको भित्तो काट्ने काम सकिएको छ। यी पुलसँगै काम थालिएका नौ पुल भित्तो काट्न नपर्ने भएकाले बनिसकेका छन्।

यसअघि नै सो सडकका पाँच पुल बनिसकेका थिए। पाँच पुल निर्माणाधीन छन्।

सडक विस्तारसँगै पुल साँघुरा भएपछि सडकमा रहेका २० वटै पुल नयाँ थप गरिएको हो। पहिलेको पुलको छेउमा अर्काे पुल बनाउँदै गर्दा भित्तो काट्नु परेको हो।

आचार्यका अनुसार तुइन खोलाको भित्तो काट्नका लागि विस्फोट गराउन अनुमति लिने प्रक्रियामा रहेको छ। अनुमति पाएसँगै एक महिनामा विस्फोटक पदार्थ झिकाएर विस्फोट गराउने तयारी आयोजनाले गरेको सूचना अधिकारी आचार्यले जानकारी दिए।

फागुन २१, २०७९ आइतबार ०९:१७:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।