फेवातालमा डुङ्गा दुर्घटना, दश जनाकै जीवितै उद्दार

फेवातालमा डुङ्गा दुर्घटना, दश जनाकै जीवितै उद्दार

काठमाडौं : कास्कीको पोखरा महानगरपालिका-६ स्थित फेवातालमा डुङ्गा दुर्घटनामा परेका १० जनाको सशस्त्र प्रहरीले जीवितै उद्दार गरेको छ।

शनिबार साँझ ४ बजे अचानक आएको हावाहुरीका कारण दुई वटा डुङ्गा र ४ वटा कायाक पल्टिँदा त्यसमा रहेका १० जना व्यक्ति तालमा डुबेको सशस्त्र प्रहरीका सहायक प्रवक्ता प्रहरी नायब उपरिक्षक (डिएसपी) शैलेन्द्र थापा जानकारी दिए।

तालमा डुङ्गा र कायाक डुबे लगत्तै फेवाताल रेस्क्यु टावर सुरक्षार्थ तैनाथ सशस्त्र प्रहरी बलको गोताखोर सहितको टोलीले सकुसल उद्दार गरेको हो।

दुई वटा डुङ्गामा ६ जना तथा ४ वटा कायाकमा १/१ जना थिए। उद्दार गरिएकामध्ये ९ जना सकुसल छन् भने कास्की जिल्ला पोखरा महानरपालिका-१ बगर बस्ने बर्ष ७० कि याममाया गिरि घाइते छिन्।

डुङ्गाले च्यापेको अवस्थामा फेला परेकी गिरिलाई गण्डकी स्वास्थ्य प्रतिष्ठानमा  भर्ना गरिएको छ। डुङ्गामा रहेका कास्की जिल्लाकै छन् भने कायाकमा रहेका ४ जना काठमाडौंबाट पोखरा घुम्न गएकाहरू हुन्।

फागुन २०, २०७९ शनिबार १८:०१:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।