मृतकका परिवार विपन्न भए काजक्रिया गर्न वडाले १० हजार दिने
काठमाडौं: पर्वत जिल्लाको कुश्मा नगरपालिकाको १० नं वडाले मृतकका परिवारसँग वडा कार्यक्रम सञ्चालनमा ल्याएको छ। सो वडाभित्र रहेका विपन्न परिवारमा कुनै सदस्यको मृत्यु भएमा परिवारलाई रकम अभावका कारण काजक्रिया गर्न अप्ठ्यारो नहोस् भन्ने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको हो।
“सरकारी सेवामा रहेका र आर्थिकरूपमा सम्पन्न परिवारलाई बाहेक वडामा मृत्यु भएका प्रत्येक मृतकका परिवारलाई जनही रु १० हजार दिने गरेका छौँ”, वडाध्यक्ष रामचन्द्र सुवेदीले भने, “यस आर्थिक वर्षदेखि सुरु गरेका हौँ र यसलाई आगामी दिनमा निरन्तरता दिइने छ। मृतकका परिवारलाई काजक्रिया खर्च भनेर रकम भुक्तानी दिने गरेका छौँ।”
पर्वतमा वडाको यो नौलो कार्यक्रम भएको स्थानीय राजु पौडेलले बताए। उनले वडाको यस कार्यक्रमले विपन्न परिवारलाई राहत मिलेको प्रतिक्रिया दिए।
सामान्य काजक्रियाकै लागि पनि विपन्न परिवारले त ऋण धन गर्नुपर्ने अवस्था रहँदै आएकामा वडाको यस कार्यक्रमले थोरै भए पनि राहत दिएको उनको भनाइ छ।
वडाध्यक्ष सुवेदीले भने, “यो रकम धेरै होइन सामान्य हो, तर पनि जनताका प्रतिनिधि आफ्ना नागरिकलाई दुःख परेका बेला सान्त्वना र समवेदना लिई घर–घरमै भेट्न जाने एउटा माध्यम मात्र हो।”
मृतकको परिवारले रकम प्राप्त गर्न वडा कार्यालयमा मृत्यु दर्ता गर्नुपर्ने हुन्छ। त्यसपछि वडाध्यक्ष सो रकम लिएर मृतकको घरमा पुग्ने गर्दछन्।
यस वडामा जम्मा घरधुरी ६२३ र जनसङ्ख्या चार हजार ५३४ छ।
फागुन २०, २०७९ शनिबार ११:२३:५६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।