सैनिक हिरासतमा रहेका उपरथी शाही बर्खास्त
काठमाडौँ : सैनिक अनुशासन उलङ्घन गरेको अभियोगमा नेपाली सेनाका उपरथी प्रेम शाही बर्खास्तमा परेका छन्। उनलाई सेनाको कोर्ट अफ इन्क्वायरीले सैनिक ऐन, २०६३ विपरीतको कसुर गरेको अभियोगमा सेवाबाट हटाउने निर्णय भएको हो।
सैनिक हेडक्वाटरले शाहीबारे सुनुवाइ र छानबिन गर्न उपरथी बाबुराम थापाको नेतृत्वमा कोर्ट अफ इक्वायरी गठन गरेको थियो। थापाको प्रतिवेदनका आधारमा न्यायिक प्रक्रियाका लागि उपरथी ताराध्वज पाण्डेको अध्यक्षतामा जनरल समरी अदालत गठन गरियो।
सोही अदालतमा शाही र उनका दुई सहयोगीविरुद्ध सैनिक विद्रोह कसुरमा मुद्दा दर्ता भयो। सर्वोच्च अदालतले तीनै जनालाई बिहीबार बन्दी प्रत्यक्षीकरणमा अदालतमा उपस्थित गराउन आदेश दिएको थियो। अदालतमा उपस्थित गराउनु अगाडि तीनै जनामाथि कारबाही भयो र रिहा पनि भए।
सैनिक अदालतको आदेशमाथि चित्त नबुझे ३५ दिनभित्र विशेष अदालतमा पुनरावेदन गर्न सक्ने कानुनी प्रावधान छ। पुनरावेदन परेमा न्याय परिषद्को सिफारिसमा पुनरावेदन अदालतको न्यायाधीशको अध्यक्षतामा रक्षा मन्त्रालयका सचिव र सेनाको प्राड विभागका प्रमुख सदस्य रहेको अदालतले पुनरावेदनमाथि सुनुवाइ गर्नेछ।
फागुन १९, २०७९ शुक्रबार ००:४८:४८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।