कोदालोले हानेर श्रीमतीको हत्या, दुई वर्षे छोरीको ज्यान लिने बुवा पक्राउ

कोदालोले हानेर श्रीमतीको हत्या, दुई वर्षे छोरीको ज्यान लिने बुवा पक्राउ

काठमाडौं: बागलुङमा श्रीमान्‌ले श्रीमतीको हत्या गरेका छन्। जिल्लाको जैमिनी नगरपालिका– २ दमेकका ४५ वर्षीय केशव नेपालीले श्रीमती ३६ वर्षीया राधा नेपालीको हत्या गरेका हुन्।

घर छेउको बारीमा आलु खन्दै गरेकी राधालाई पछाडिबाट कोदालोले हानेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ।

सुरुमा गम्भीर भएकी राधालाई धवलागिरि अस्पताल लगिएको थियो। तर अस्पताल लग्दै गर्दा बाटोमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

श्रीमतीलाई कोदालोले हानेपछि केशवले झुण्डिएर आत्महत्या गर्न खोजेको स्थानीयको भनाइ छ।
 
यस्तै सोही जैमिनी नगरपालिका– ४ सर्कुवा मौलाछमा दुई वर्षकी बालिका असरा खातुनको बुधबार साँझ हत्या गरेको आरोपमा प्रहरीले उनका बुवा २७ वर्षीय सायरदिन मियाँलाई पक्राउ गरेको छ।

बालिकाकी आमा नभएको मौकामा छोरीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर थापाले जानकारी दिए।

मियाँले मादक पदार्थ तथा लागूऔषध सेवन गर्दै आएको र श्रीमतीलाई कुटपिट गरे माइत लखेटेको बुझिएको छ। प्रहरीले बालिकाको शव परीक्षणका लागि बागलुङ ल्याएको छ।

आरोपित मियाँलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बागलुङमा ल्याइएको थापाको भनाइ छ।

फागुन १८, २०७९ बिहीबार २०:४७:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।