यौन दुर्व्यवहारको आरोपी अध्यक्ष चुनिएको भन्दै १८ चलचित्र पत्रकारको सामूहिक राजीनामा

यौन दुर्व्यवहारको आरोपी अध्यक्ष चुनिएको भन्दै १८ चलचित्र पत्रकारको सामूहिक राजीनामा

काठमाडौँ : चलचित्र पत्रकार सङ्घको सदस्यलाई यौन दुर्व्यवहार गरेको आरोपमा छानबिनमै रहेका समीर बलामीलाई अध्यक्षमा निर्वाचित गरेको भन्दै सङ्घका १९ जना सदस्यहरूले संस्थाबाट राजीनामा दिएका छन्।

संस्थाकी साधारण सदस्यविरुद्ध यौन दुर्व्यवहारको मुद्दामा सङ्घ आफैँले अनुसन्धान गरिरहेको व्यक्तिको नेतृत्व स्वीकार्य नहुने भन्दै उनीहरूले संयुक्त राजीनामा दिएका हुन्।

राजीनामा दिनेहरूले बलामी नवौँ महाधिवेशनबाट अध्यक्षको उम्मेदवार भइरहँदा बन्द सत्रमा विरोध गरेको र बलामीबाट दुर्व्यवहारमा परेकी सदस्यले दाबी विरोध गर्दा समेत उम्मेदवारी स्वीकार गरेपछि सङ्घमा रहन असुरक्षित महसुस भएको भन्दै राजीनामा दिएका हुन्।

'यौन दुर्व्यवहारको आक्षेप लागेर मुद्दा किनारा नलागिसकेको अवस्थामा बलामीकै नेतृत्वमा सङ्घमा बसिरहन असुरक्षित, असहज र नैतिक रूपमा सकसको अवस्था भएकाले हामीले राजीनामा पेस गरेका छौँ' उनीहरूले सार्वजनिक गरेको राजीनामा पत्रमा उल्लेख छ।

यस अगाडि बलामीमाथि यौन दुर्व्यवहारको आरोप लागेपछि उनले महासचिव पदबाट राजीनामा दिएका थिए। चलचित्र पत्रकार सङ्घ नेपाल पत्रकार महासङ्घको एसोसिएट संस्था समेत हो।

सामूहिक राजीनामा दिनेमा पुष्पा थपलिया, सङ्गीता गिरी, सुशील पौडेल, सम्झना उप्रेती रौनियार, प्रदीप कार्की, विशाल राई, प्रकाश ढकाल, रीना मोक्तान, गणेश वली लगायतले राजीनामाको घोषणा गरेका हुन्।

यसै गरी सार्वजनिक भएको राजीनामा पत्रमा लोकेन्द्र राउत, अनिल यादव, चिरञ्जीवी सापकोटा, सुशील नेपाल,लक्ष्मी बलायर, वैकुण्ठराज पराजुली, स्वेच्छा राउत, सविन ढकाल र सङ्गीता श्रेष्ठले राजीनामाको घोषणा गरेका हुन्। 

फागुन १८, २०७९ बिहीबार २०:३२:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।