छायाँदेवी कम्प्लेक्स विवादका १५ मुद्दामा सर्वोच्चले निर्णयको सक्कल फाइल मगायो

छायाँदेवी कम्प्लेक्स विवादका १५ मुद्दामा सर्वोच्चले निर्णयको सक्कल फाइल मगायो

काठमाडौँ : ठमेलमा रहेको छायाँदेवी कम्प्लेक्स विवादमा सर्वोच्च अदालतले निर्णयको सक्कल फाइल पेस गर्न आदेश दिएको छ। बिहीबार न्यायाधीशद्वय सुष्मालता माथेमा र कुमार चुडालको संयुक्त इजलासले निर्णयको सक्कल फाइल मगाउन आदेश दिएको हो।

छायाँदेवी कम्प्लेक्सबारे सर्वोच्चमा नक्सा पास बदर, लिखत बदर, गुठी रैतानी बदर, मिलापत्र बदर, लिखत धितो र अदालतको अवहेलना गरेर १५ वटा मुद्दा विचाराधीन छन्।

सर्वोच्च अदालतमा २०७१ देखि नै छायाँदेवी कम्प्लेक्सबारे कानुनी विवाद जारी छ। बिहीबार १५ वटै रिटमा निर्णयको सक्कली फाइल झिकाउन आदेश आएको हो।

२०७१ वैशाख र असोजमा अधिवक्ता दीपक मिश्र र रामहरि श्रेष्ठले यसबारे  मुद्दा दायर गरेका थिए। सो जग्गा गुठीको भएको र अनधिकृत रूपमा कब्जा गरेको उनीहरूको दाबी देखिन्छ। गुठी लिखत बदर, नक्सा बदर माग गर्दै भागवत नरसिंह प्रधानले २०७३ असोज २ मा रिट दायर गरेका थिए।  

सो मुद्दामा छायाँदेवी कम्प्लेक्सदेखि प्रतिमा पाँडे र शंकरप्रसाद शाह, काठमाडौँ महानगरपालिका, गुठी संस्थान समेत विपक्षी छन्। विवादित जग्गामा सुरेशाय हाउजि कम्पनी प्रालिले कम्प्लेक्स बनाएको थियो।

 १५ रोपनी क्षेत्रमा फैलिएको क्षेत्रमध्ये १२ रोपनी जग्गा सिंह सार्थबाहु गुठीको नामको पोखरी रहेको र सो क्षेत्रमा ब्यवसायीक भवन बन्नु सार्वजनिक सम्पत्तिको दुरुपयोग रहेको एक पक्षले दाबी गर्दै सर्वोच्चमा गएका थिए। ब्यवसायिक भवन बनाउने पक्षले कानुनी रूपमा सो जग्गा किनेर भवन बनाएको दाबी गर्दै आएका छन्।

फागुन १८, २०७९ बिहीबार २०:२२:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।