कांग्रेसको आन्तरिक लोकतन्त्र अरु पार्टीको भन्दा बलियो देखियो

कांग्रेसको आन्तरिक लोकतन्त्र अरु पार्टीको भन्दा बलियो देखियो

नेपाली कांग्रेस नेपालको लोकतान्त्रिक पार्टी हो। विगतका लोकतान्त्रिक आन्दोलनहरुमा कांग्रेसको भूमिका अहं छ। उसले जति लोकतन्त्रको कुरा गर्छ, त्यो अनुरुप रुपान्तरणको कुरा भने गरेको देखिँदैन।

राष्ट्रियताको सवालमा त कांग्रेस पार्टी ठिकै छ। उसको अडान त्यति कमजोर पनि हैन र त्यति बलियो पनि होइन भन्ने मलाई लाग्छ। 

जस्तैः अहिले नेपालको सन्दर्भमा एमसिसी राष्ट्रियताको सवालसँग जोडिएर आएको छ। नेपाली कांग्रेसको धारणा पास गर्नुपर्छ भन्ने रहेको छ कुरा विभिन्न मिडियाहरुमा आइरहेको छ।

तर, नेपाली आम जनमानसमा चाहिँ एमसिसी नेपालको हितमा छैन, पास गर्नु हुँदैन भन्ने छ। यो विषयलाई लिएर पनि भन्न सकिन्छ कि नेपाली कांग्रेसले राष्ट्रियताको कुरा त गर्छ तर राष्ट्रियतासँग जोडिएका विषय उठ्दा जसरी अडान लिनुपर्ने हो, त्यसरी लिन सक्दैन भन्न सकिन्छ। 

भारतीयहरुबाट हाम्रो सन्दर्भमा अलि हेपाहा व्यवहार हुन्छ भन्ने छ नि आम बुझाइ। यसमा वामपन्थी पार्टीले जुन रुपमा कडा ढंगले त्यसको विपक्षमा आफूलाई उभ्याएको देखिन्छ, त्यति कांगेसले गरेको देखिँदैन। 

कांग्रेसको परराष्ट्र नीति त सन्तुलन कायम गर्नुपर्छ भन्ने देखिन्छ। तर व्यवहारमा चाहिँ चीनसँग अलि टाढा रहनुपर्छ भन्ने खालको हो कि जस्तो देखिन्छ। भर्खरै जुन राजदुतहरु नियुक्तिको सन्दर्भमा पनि चीनको राजदूत नियुक्तिलाई त्यति महत्व नदिएको भन्ने टिप्पणी भइरहेको छ। 

यो उसको सैद्धान्तिक, व्यवहारिक दुवै नीति हो। सैद्धान्तिक रुपले कांग्रेस चीनमा कम्युनिष्ट पार्टीको सरकार, शासन भएको हुनाले टाढाको सम्पर्क राख्न खोज्ने उसको सैद्धान्तिक कुरा भयो। व्यावहारिक रुपले पनि अलिकति चीनसँग टाढा रहन खोजेको जस्तो देखिन्छ।

कांग्रेसको आन्तरिक प्रजातन्त्र अरु पार्टीको भन्दा अलि बढी हो कि जस्तो देखिन्छ। अहिले भएको महाधिवेशनको सन्दर्भमा कांग्रेसको तलदेखि माथिसम्म सबै ठाउँमा निर्वाचन भएको हो। यद्यपि त्यहाँ निर्वाचनको सन्दर्भमा कतिपय अप्रिय घटना घटेको पनि देखियो। तर पनि आम रुपमा लोकतान्त्रिक अभ्यास गरेको देखियो। 

३/४ वटा पार्टीले एकै पटक महाधिवेश, सम्मेलन गरे। तुलनात्मक रुपले कांग्रेसले आन्तरिक लोकतन्त्र अलि बढी अभ्यास गरेको जस्तो देखिन्छ।

बाह्य लोकतन्त्रको सवालमा त स्वतन्त्र, निष्पक्ष, धाँधलीरहित निर्वाचनको हामी जे कुरा गर्छौं, त्यसमा अलि कमजोर भएको अथवा व्यवहारमा जाँदा कम ध्यान दिएको जस्तो देखिइहाल्छ।

कांग्रेस नेपालमा लोकतन्त्रको स्थापनाका निमित्त, लोकतन्त्रको रक्षाका निमित्त संघर्ष गरेरै आएको पार्टी हो। लेकतन्त्रसँग जोडिएर नेपालको राष्ट्रियता, जनवाद, जनजीविका भन्छौं हामी। यो सवालमा हामी सहकार्य गरेर पनि आएका छौं। कांग्रेस-हामी मिलेरै पञ्चायत फाल्यौं। मिलेर नै राजतन्त्र फाल्यौं। लेकतान्त्रिक गणतन्त्र स्थापना गर्यौं। यी सबै सवालमा उसले सकारात्मक योगदान गरेको छ। 

आन्तरिक जीवन त आफ्ना–आफ्ना खालका हुन्छन्। पार्टीहरु फरक-फरक छन्। फरक-फरक सिद्धान्त अवलम्बन गरेका छन्। 

(नेकपा एकीकृत समाजवादीका महासचिव भुसालसँग उकेराकर्मी उपेन्द्र खड्काले गरेको कुराकानीमा आधारित।)

मंसिर २५, २०७८ शनिबार ०७:४१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।