बौद्ध भिक्षुको भेषमा भारतमा मानव तस्करी
काठमाडौँ : बौद्ध भिक्षुको भेषमा मानव बेचबिखन तथा ओसारपसारमा संलग्न नवलपरासी देउचुली नगरपालिका-१७ का ३६ वर्षीय सन्त वीर लामा पक्राउ परेका छन्।
काठमाडौँ बौद्धस्थित सेतो गुम्बामा लामा पढाई गरिरहेका २ जनालाई सन्त वीरले आफू भारत कर्णाटक राज्यमा पर्ने मुडगोड लामा क्याम्प नम्बर १ स्यार गडेन मोनेष्ट्री गुम्बामा अध्ययन गरेको लामा गुरु भनी परिचय दिई कर्नाटकस्थित गुम्बामा गई लामा अध्ययन गर्यो भने राम्रो सुविधा पाइन्छ, नेपालको गुम्बामा पढाउने लामा (शिक्षक) पनि हुन पाइन्छ भन्ने जस्ता विभिन्न प्रलोभन देखाई दुवै जनालाई सिन्धुलीको वडा कार्यालयमा लगी सार गडेन बुद्धिस्ट कल्चर एसोसिएसनको लेटर प्याडमा भारतको कर्णाटकमा लैजाने सिफारिस दिलाई पाउँ भनी पत्र लेखि पीडितहरूको जन्म दर्ता समेत बनाउने क्रममा उनको गतिविधि शङ्कास्पद भएको जानकारी हुनासाथ खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
उनले हालसम्म नेपालका विभिन्न जिल्लाहरूबाट थुप्रै बालकहरूलाई लामा अध्ययन गर्न लैजाने बहानामा भारतमा लगी सकेको र उनले भारत लैजान काठमाडौँ आरुवारिमा रहेको झुगो कदम्पा गुम्बामा अन्य तीन जना १० देखि १४ वर्ष सम्मका बालकहरूलाई राखेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ। ती बालकहरूलाई प्रहरी प्रधान कार्यालय मानव बेचबिखन अनुसन्धान ब्युरो बबरमहलबाट खटिएको प्रहरीले उद्धार गरी बाल हेल्पलाई सिविन रवि भवन काठमाडौँको संरक्षणमा पठाई आवश्यक प्रक्रिया पश्चात् मङ्सिर २ गते आफन्तको जिम्मा लगाएको छ ।
मंसिर ८, २०७८ बुधबार १७:४४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।