दलित समुदायका पत्रकारको गुनासो : कार्यक्षेत्रमा समेत जातीय विभेद सहनुपर्छ
काठमाडौँ : दलित समुदायका पत्रकारहरूको क्षमता विकास कार्यक्रम ल्याउन माग गरेका छन्।
नेपाल पत्रकार महासङ्घले काठमाडौँमा गरेको ‘दलित समुदायका पत्रकारको अवस्था र महासङ्घको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा सहभागीहरूले दलित समुदायकै पत्रकारको क्षमता विकास गराउन नसके त्यो समुदायका कथा व्यथा सञ्चार माध्यमसम्म पुर्याउनै नसकिने बताए।
राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले दलित समुदाय लामो समयदेखि उत्पीडनमा रहेको भन्दै त्यसको मुक्तिका लागि अक्षरमार्फत अघि बढ्न पत्रकारहरूलाई आग्रह गरे।
अध्यक्ष विश्वकर्माले नेपालमा संविधान र कानुनले जातीय विभेद र छुवाछुतलाई निषेध गरे पनि समाजमा अझै त्यस्तो विभेद व्याप्त रहेको उल्लेख गरे। ‘समाजका बुज्रुकहरू नै यो एकै पटक परिवर्तन हुँदैन, क्रमशः हुन्छ भन्ने गर्छन्,’उनले भने,‘तर, त्यो विस्तार भनेको कहिले हो ? यो मानसिकतालाई हामीले कसरी फेर्ने?यसबारे आमसञ्चार माध्यमले धारणा बनाउनुपर्छ।’
अध्यक्ष विश्वकर्माले पछिल्ला वर्षहरूमा दलित समुदायले विभिन्न अधिकारहरू पाए पनि दलितहरूमाथि हुने हिंसा भने बढ्दै गएको बताए।
प्रतिनिधिसभा सदस्य एवम् नेकपा माओवादी केन्द्रकी नेतृ अञ्जना विशंखेले दलित पत्रकारका समस्या समाधानका लागि सबै पत्रकारहरूलाई एकजुट भएर अघि बढ्न आग्रह गरिन्।
उनले पछिल्लो समय राजनीतिक दल, संसद्, सरकार र अन्य विभिन्न निकायमा दलित सहभागिता वृद्धि भए पनि दलित समुदायको मुक्तिको मुद्दा भने त्यसरी उठ्न नसकेको बताइन्। ‘दलित सहभागिता बढ्दो छ। तर, मुद्दामा एकता छैन,’उनले भनिन्, ‘पत्रकारिता क्षेत्रमा पनि त्यस्तै समस्या देखिन्छ। तपाईँहरूको एकता र निरन्तरता आवश्यक छ।’
उनले दलित समुदायका पत्रकारहरूको क्षमता विकासमा जोड दिन सुझाव दिइन।
नेपाल पत्रकार महासङ्घका वरिष्ठ उपाध्यक्ष रमेश विष्टले दलित समुदायका पत्रकारको क्षमता विकास र उन्नयनका लागि महासङ्घको प्रतिबद्धता जनाए।
उनले महासङ्घले पत्रकार र सञ्चार माध्यममा समावेशिता र सहभागिताको कुरा मात्रै नउठाउने भन्दै समाजमा जकडिएर रहेको जातीय विभेद र छुवाछुतको अन्त्यका लागि विशेष पहल लिन सक्ने बताए।
महासङ्घका कोषाध्यक्ष कलेन्द्र सेजुवालले दलित पत्रकारको समस्या पहिचान गरी समस्या समाधान गर्न सम्बन्धित सङ्घ संस्थासँगको अन्तरक्रियामार्फत अघि बढ्ने बताए।
महासङ्घका पूर्वकेन्द्रीय सदस्य प्रकाशचन्द्र परियारले अझै पनि सञ्चारगृहमा दलित पत्रकारको समानुपातिक सहभागिता हुन नसकेको बताए। ‘पत्रकारको नाम सुन्ने बित्तिकै ऊमाथि गर्ने व्यवहार फरक पर्छ, पत्रकारले पनि विभेद खेपिरहेका छन्,’ उनले भने, ‘मूलधारका सञ्चार माध्यमले नै दलित समुदायका पत्रकारलाई स्थान दिएका छैनन्।’
कार्यक्रममा पत्रकार बाबुराम विश्वकर्माले पत्रकारितामा पनि राज्यसत्ताको धङ्धङ्गी रहेको सुनाए। उनले दलितमाथि हुने गरेको विभेद र हिंसाका घटनालाई राज्यले गम्भीर मुद्दाका रूपमा नलिने गरेको भन्दै सञ्चार माध्यमको चरित्र पनि त्यस्तै रहेको बताए।
लेखक तथा अध्येता जेबी विश्वकर्माले दलित समुदायकाले सञ्चार माध्यमभित्रै विभेद खेपिरहेको बताए। ‘मिडियामा दलितमाथिको संरचनागत विभेद कायम छ,’उनले भने,‘दलितमाथिको अत्याचारका घटनामा मिडियाको भूमिका कमजोर छ।’ उनले दलित समुदायका पत्रकारको सहभागितालाई मात्रै बढाउने भन्दा पनि गुणस्तरलाई बढाउनुपर्नेमा जोड दिए।
महासङ्घका केन्द्रीय सदस्य प्रकाश धौलाकोटीले महासङ्घले दलित समुदायका पत्रकारहरूको चौतर्फी विकास र सहभागितालाई ध्यानमा राखेर काम गर्ने बताए। उनले अहिले विभिन्न चरणका छलफलबाट समुदायका पत्रकारहरूका समस्याको पहिचान गरी तिनको समाधानका लागि महासंघमार्फत् पहल गर्ने बताए।
राष्ट्रिय दलित पत्रकार सङ्घका महासचिव लक्ष्मण दर्नालले सञ्चारको क्षेत्रमा कुटुवाल प्रथादेखि हालसम्म दलितहरूको महत्त्वपूर्ण भूमिका हुँदा पनि त्यसको कदर हुन नसकेको बताए। महासचिव दर्नालले दलित समुदायका पत्रकारहरूको सङ्ख्या कम रहेको भन्दै उनीहरूलाई पत्रकारितामा आकर्षण गर्ने र क्षमता अभिवृद्धि गर्ने कार्यमा ध्यान दिनुपर्नेमा जोड दिए ।
क्रियाशील दलित पत्रकार सङ्घका पवित्रा सुनारले दलित भएकै कारण कार्यक्षेत्रमा समेत पत्रकारहरूले जातीय विभेद सहनुपर्ने बाध्यता रहेको बताइन्। ‘समाज जस्तो छ, त्यसको चित्र मिडियामा छ, मिडिया समाजभन्दा अलग्गै छैन,’ उनले भनिन्, ‘हिंसा र विभेदको स्वरूप फरक हुनसक्छ। पत्रकार आफैँ विभेद खेपेर कसरी समुदायको मुक्तिको विषय उठाउन सक्छ?’
जागरण मिडिया सेन्टरका महासचिव भीम घिमिरेले दलित समुदायको मुद्दालाई सञ्चार माध्यमले साझा मुद्दाका रूपमा अघि बढाउन नसकेको बताए। ‘दलितका विषयमा दलितले मात्रै लेखेर पुग्दैन। यो आम सवाल बन्नुपर्छ,’उनले भने,‘सार्वजनिक सवाल बन्नुपर्छ। तब मात्रै दलित समुदायमाथिको अन्यायको अन्त्य हुनसक्छ भन्ने लाग्छ।’
मंसिर ६, २०७८ सोमबार २२:०३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।