प्रधानन्यायाधीशविरुद्ध बार आक्रामक : वार्ता नगर्ने, तेस्रो चरणको आन्दोलन घोषणा

प्रधानन्यायाधीशविरुद्ध बार आक्रामक : वार्ता नगर्ने, तेस्रो चरणको आन्दोलन घोषणा

बार केन्द्रीय समितिको बैठकले आइतबारदेखि शुक्रबारसम्मको आन्दोलनका कार्यक्रम घोषणा गरेको उपाध्यक्ष रक्षा बस्यालले जानकारी दिइन्। 

बार एसोसिएसनलाई वार्तामा आउन प्रधानन्यायाधीश राणाले शुक्रबार पत्र पठाएका थिए। शुक्रबारसम्म राजीनामा दिन अल्टिमेटम दिएको बारले राणाले वार्ताका लागि पठाएको पत्रबारे छलफल नै नगरेको उपाध्यक्ष बस्यालले बताइन। 

राजीनामाको माग गरेर बहिष्कारको आन्दोलन गरिरहेकाले वार्ताका लागि पठाएको पत्रबारे छलफल गर्नुपर्ने आवश्यकता नै नरहेको बस्यालले बताइन। ‘हामीले राजीनामा मागेर बहिष्कार आन्दोलन गरिरहेका छौँ,’उनले उकेरासँग भनिन्,‘वार्तामा आउन पठाएको पत्रमा हामीले छलफल नै गरेनौ।’ 

सर्वोच्च अदालत परिसरमा कानुन व्यवसायीमाथि भएको प्रहरी ज्यादतीको विरोधमा आइतबार देशभरका अदालतमा बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दामा सुनुवाइ नगर्ने निर्णय बैठकले गरेको उपाध्यक्ष बस्यालले जानकारी दिइन। 

सोमबार सर्वोच्च अदालत परिसरमा धर्ना र संसद्मा रहेका दलहरूलाई ज्ञापन पत्र बुझाउने, मंगलबार अन्तिम म्याद भएका मुद्दा बाहेक कुनै पनि मुद्दा दर्ता नगर्ने बारले निर्णय गरेको छ।

बुधबार देशभरका १८ वटा उच्च अदालतमा केन्द्रीय प्रतिनिधि पठाएर वृहत् विरोध प्रदर्शन गर्ने, बिहीबार र शुक्रबार काठमाडौँ केन्द्रित प्रदर्शन गर्ने निर्णय गरिएको उपाध्यक्ष बस्यालले बताइन। 

मंसिर ३, २०७८ शुक्रबार २०:०५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।