एमसिसी पारित गराउन अमेरिकी सहायक विदेशीमन्त्रीको लबिङ
सहायक विदेशमन्त्री लुले प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर एमसिसी पारित गर्न आग्रह गरेका हुन्।
लुले बिहीबार नै प्रधानमन्त्री देउवासँग भेट गरेका थिए। शुक्रबार एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्डसँग छुट्टा छुट्टै भेटवार्ता गरेका लुले एमसिसी पारित गराउन लबिङ गरे।
ओलीसँगको भेटमा मन्त्री लूले अमेरिकाले विभिन्न स्वास्थ्य, शिक्षा र रोजगार लगायतका क्षेत्रमा गरिरहेको सहयोगलाई अझै बिस्तार गर्ने प्रतिबद्धता जनाएको नेकपा एमालेले जनाएको छ।
मन्त्री लूले अध्यक्ष ओलीसँग नेपालमा अमेरिकाले केही नयाँ क्षेत्र (क्लिन इनर्जी) को क्षेत्रमा पनि सहयोग गर्ने चासो दिएको एमाले विदेश विभाग प्रमुख राजन भट्टराईले बताए।
अध्यक्ष ओलीले आफू सरकारमा नभएको बेला बोल्ने स्थिति नभएको र सरकारमा भएका दलहरूले गरेको निर्णय हेरेर आफ्नो निर्णय बनाउने जवाफ दिएका छन्।
ओलीसँगको भेटपछि माओवादी अध्यक्ष प्रचण्डसँग भेट गरेका लूले नेपालको शिक्षा, स्वास्थ्य र स्वच्छ ऊर्जाको क्षेत्रमा विशेष सहयोग गर्ने बताएका छन्।
भेटपछि अध्यक्ष प्रचण्डले एमसिसी पहिला नेपालले सम्झौता गरेअनुसार नरहेको भन्दै सबै पार्टीसँग छलफल गरेर निर्णय लिने सहायक विदेश मन्त्री लू लाई जानकारी गराएको बताए।
मंसिर ३, २०७८ शुक्रबार १७:५७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।