जनकपुरमा हिन्दु र मुस्लिमबीच पोखरीको स्वामित्व विवाद, प्रशासनले जारी गर्‍यो निषेधाज्ञा 

जनकपुरमा हिन्दु र मुस्लिमबीच पोखरीको स्वामित्व विवाद, प्रशासनले जारी गर्‍यो निषेधाज्ञा 

धनुषा : जिल्ला प्रशासन कार्यालय धनुषाले शनिबार दिउँसो २ बजेदेखि निषेधाज्ञा आदेश जारी गरेको छ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २० देउपुरा रुपैठामा भएको हिन्दु र मुस्लिम धर्मावलम्बीको जुलुस र हुलहुज्जत रोक्न निषेधाज्ञा आदेश जारी भएको प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाले जानकारी दिए। 

रुपैठामा रहेको तेलिया पोखरी प्रयोग गर्ने विषयमा छठ पूजाको दिनदेखि हिन्दु र मुस्लिम समुदायबीच भएको विवाद दीर्घकालीन रूपमा समाधान गर्ने प्रशासनसँग सहमति भए पनि आज हिन्दु धर्मावलम्वीहरु पोखरीतर्फ लागेपछि प्रहरीसँग झडप समेत भएको बास्तोलाले बताए। 

पोखरीतर्फ जान रोक्न खोज्ने प्रहरीलाई ढुङ्गा प्रहार गरेपछि प्रहरीले अश्रुग्याँस प्रहार गरेको उनले बताए। ‘आज झन्डै २ घण्टा तनावग्रस्त नै भयो,’प्रमुख जिल्ला अधिकारी बास्तोलाले उकेरासँग भने,‘दीर्घकालीन समाधान गर्ने प्रशासनसँग सहमति गरेका हिन्दु समुदायका व्यक्तिहरू पोखरीतर्फ जान थालेपछि तनावग्रस्त भयो।’ 

उनले तनाव हुन नदिन आज शनिबार दिउँसो २ बजेदेखि भोलि आइतबार राति १० बजेसम्म निषेधाज्ञा आदेश जारी गरेको जानकारी दिए। ‘आज हिन्दु मात्रै निस्किएका छन्, हिन्दुहरूको जुलुसमा दङा भड्काउन खोज्ने तत्त्वको घुसपैठ भएको शङ्का गरेका छौ,’बास्तोलाले भने,‘यस बिषयमा अनुसन्धान पनि भइरहेको छ।’ 

तेलिया पोखरीको एकापट्टि हिन्दुहरूले र अर्कोतर्फ मुस्लिमहरूले पूजा गर्दै आएका थिए। तीन चार वर्षदेखि छठ पूजामा पोखरीको स्वामित्वको विषयमा विवाद हुँदै आएको र अहिलेको विवाद पनि त्यसकै निरन्तरता देखिएको प्रमुख जिल्ला अधिकारी बास्तोलाले बताए। 

प्रशासन कार्यालयले निषेधाज्ञा उल्लङ्घन गर्नेलाई कानुन बमोजिम कारबाही हुने आदेशमा उल्लेख गरेको छ। जनकपुरधाम उपमहानगरपालिकाको पूर्वमा जलाद नदीको कलरी  बाँध, पश्चिममा जनकपुर जटही मार्ग दोबाटो, उत्तरमा हनुमाननगर रामपुर बहुअर्वा जाने बाटो र दक्षिणमा देवपुरा निमचौकदेखि बहुअर्वा जाने बाटोसम्म निषेधाज्ञा आदेश जारी भएको बस्यालले बताए।

कात्तिक २७, २०७८ शनिबार १६:४६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।