कांग्रेस डडेलधुरामा अलाेकतान्त्रिक विधिबाट नेतृत्त्व चयन भयाे: मल्ल

कांग्रेस डडेलधुरामा अलाेकतान्त्रिक विधिबाट नेतृत्त्व चयन भयाे: मल्ल

काठमाडाैः नेपाली कांग्रेस डडेलधुरा जिल्ला समितिका सभापति कर्णबहादुर मल्लले जिल्लामा अलाेकतान्त्रिक विधिबाट नेतृत्त्व चयन भएकाे आराेप लगाएका छन्। शनिबार एक विज्ञप्ति जारी गर्दै उनले यस्ताे बताएका हुन्।

'डडेलधुराका लागि खटाइएका निर्वाचन अधिकृत श्री लाेकेन्द्र बहादुर बमले पार्टीसँग कुनै समन्वय नै नगरी अज्ञात स्थलबाट सामाजिक सञ्जालमा अधिवेशनकाे मिति सार्वजनिक गर्नु र साेही अनुसार सम्बन्धित कार्यसमिति सभापति, पदाधिकारी एवं सदस्यहरूकाे अनुपस्थितीमा अधिवेशन सम्पन्न भएकाे भनी नाटक गरिनु नेपाली कांग्रेस डडेलधुराका लागि दुर्भाग्य हाे। यस्ताे अलाेकतान्त्रिक विधिबाट चयन भएकाे नेतृत्त्वले कांग्रेसलाई गतिहीन बनाउँछ र थप अस्थितरतातर्फ धकेल्छ', विज्ञप्तिमा भनिएकाे छ। 

उनले आफूहरूले अवैधानिक प्रकृयाबाट भएका वडा र पालिका अधिवेशनहरू खारेज र नयाँ वैधानिक अधिवेशनकाे मिति तय गर्न केन्द्रीय निर्वाचन समितिमा उजुरी दिए पनि सुनुवाइ नभएकाे गुनासाे गरे। यस्तै ११ दिनसम्म डडेलधुरा पार्टी कार्यालयमा अनशन बसेकाे पनि बताए।  

उनले जसाे गर्दा पनि आफूहरूकाे माग सुनुवाइ नभएपछि प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवालाई जिल्लाकाे अभिभावकत्व लिनका लागि आग्रह गरेकाे बताए। 

उनले आगामी केन्द्रीय कार्य समितिकाे बैठकले माग सम्बाेधन नगरे मङ्सिर १ गतेदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्ना तथा अनशनका कार्यक्रम अघि बढाइने पनि जानकारी दिए।

कात्तिक २७, २०७८ शनिबार १३:०८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।