प्रधानसेनापति शर्मा भारत भ्रमण सकेर स्वदेश फिर्ता
भारतका स्थल सेनाध्यक्ष जनरल एम एम नरवणेको औपचारिक निमन्त्रणामा कार्तिक २३ गते नयाँ दिल्ली गएका शर्मा आफ्नो चार दिने भ्रमण सकेर आज शुक्रबार स्वदेश फर्केका हुन्।
भारत भ्रमणको क्रममा प्रधानसेनापति शर्मालाई भारतका राष्ट्रपति राम नाथ कोविन्दले राष्ट्रपति भवनमा आयोजित सुशोभन समारोह भारतीय स्थल सेनाको मानार्थ महारथी दर्जा प्रदान गरेका थिए।
शर्माले भारतीय स्थल सेनाध्यक्ष जनरल एम एम नरवणे, रक्षा मन्त्री राजनाथ सिंह, विदेश मन्त्री डा. एस. जयशंकर तथा राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल लगायतसँग छुट्टाछुट्टै भेट गरेका सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ।
नेपाली सेनाले निकालेको विज्ञप्तिमा सैनिक नेतृत्वको भ्रमण र दुई देशका सेनाका प्रधानसेनापतिलाई मानार्थ महारथीको उपाधिद्वारा सुशोभित गर्ने परम्पराबाट नेपाली सेना र भारतीय सेनाबीच विगतदेखि रहँदै आएको आपसी सौहार्दपूर्ण सम्बन्ध सुदृढ हुनुका साथै द्विपक्षीय आपसी हित र पारस्परिक सम्बन्धलाई सुमधुर बनाउन महत्त्वपूर्ण हुने विश्वास लिएको लेखिएको छ।
कात्तिक २६, २०७८ शुक्रबार २१:१४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।