सर्वोच्च अदालत प्रवेश गर्ने ढोका बन्द गरेकोमा बारले जनायो आपत्ति 

सर्वोच्च अदालत प्रवेश गर्ने ढोका बन्द गरेकोमा बारले जनायो आपत्ति 

बार एसोसिएसनले विज्ञप्ति निकालेर अदालत र बारबीचको ढोका तत्काल खुल्ला गरी सहज आवागमन गर्ने वातावरण बनाउन पनि सर्वोच्च अदालत प्रशासनलाई भनेको छ। 

शुक्रबार बिहान अदालत प्राङ्गणमा गर्न लागिएको शान्तिपूर्ण विरोध सभा कार्यक्रमलाई अवरोध गर्न सर्वोच्च परिसर सशस्त्र प्रहरीको ब्यारेक जस्तो बनाएको बारले आरोप लगाएको छ। 

बारले सर्वोच्च अदालत प्रवेश गर्ने ढोका र सर्वोच्च अदालतको मूल ढोका समेत बन्द गरिएको प्रति आपत्ति समेत जनाएको छ।

‘यो घटना न्यायपालिकामा न्यायपालिका प्रमुख र प्रशासकीय प्रमुख समेतको ठाडो आदेशबाट हुनु अत्यन्त आपत्तिजनक र निन्दनीय कार्य हो,’बारले निकालेको विज्ञप्तिमा लेखिएको छ,‘बार बेन्च एक सिक्काका दुई पाटा भन्ने सर्वमान्य मान्यता विपरीत हतियार सहितका दङ्गा प्रहरी प्रयोग गरी ढोका बन्द गर्न उद्यत रहेको हामीलाई महसुस भएको छ।’

बारले  प्रधानन्यायाधीश र सर्वोच्च अदालत प्रशासनको यो रवैया कुनै अर्थमा पनि उचित मान्न नसकिने उल्लेख गरेको छ। यो घटनाले नेपालको न्यायपालिकाको छवि नेपालमा मात्र नभई अन्तर्राष्ट्रिय जगतमा पनि धुमिल हुन गएको बारले निकालेको विज्ञप्तिमा लेखिएको छ।

कात्तिक २६, २०७८ शुक्रबार १८:४४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।