एनआरएनएको स्वास्थ्य सामग्री : कारागार विभागले लिएन, ट्रमा सेन्टरले बल्ल बुझ्यो
कारागार व्यवस्थापन विभागलाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्न पुगेका सङ्घका अध्यक्ष कुमार पन्त, उपाध्यक्ष थापा सहितको विभाग पुगेकाे टोली केन्द्रीय कारागारमा दिन भनेपछि फर्किएर ट्रमा सेन्टर पुगेको हो।
देशका ७४ कारागारमा २५ हजार ५ सय कैदी बन्दी रहेकाले ३ हजार मास्क विभागले वितरण गर्न नसक्ने बताएर केन्द्रीय कारागार पठाइएको विभागका निमित्त महानिर्देशक लक्ष्मण ढकालले जानकारी दिए।
‘सङ्घको टोलीसँगै रहेका मानवअधिकार परिषद्का अध्यक्ष तुलसी थापाले ३ हजार मास्क र २ वटा अक्सिजन कन्सनट्रेटर छ भन्नुभयो,’ढकालले उकेरासँग भने,‘सङ्घका अध्यक्ष पन्तले ६ हजार मास्क छ भन्नुभयो, त्यो त विभागमा नछोड्नुहोस्, केन्द्रीय कारागारमा लगेर हस्तान्तरण गर्न भनेका हौँ।’ उनले दोहोरो प्रक्रिया गर्नु भन्दा आफै गएर दिन भनेको बताए।
कैदी बन्दीलाई मास्क वितरण गर्ने भने पनि सङ्घले केदीबन्दीका हातहातमा वितरण गर्ने अनुमतिका लागि लिखित अनुरोध नगरेको विभागले जनाएको छ। विभागका अनुसार केन्द्रीय कारागारमा मात्रै ३३ सय कैदी रहेका छन्।
केन्द्रीय कारागार अस्पतालमा ५९० जना कैदी बिरामी भएर उपचार गराइरहेका छन्। डिल्लीबजार कारागारमा ६ सय कैदी छन्। ‘३ हजार मास्क विभागले कसलाई दिने?’निमित्त महानिर्देशक ढकालले भने,‘जेलरलाई भन्दिन्छौ, तपाईँहरू आफै गएर जेलरलाई हस्तान्तरण गर्नुहोला।’
केन्द्रीय कारागार अस्पतालमा अक्सिजन कन्सनट्रेटर हस्तान्तरण गर्न भनेको विभागले जनाएको छ। तर, सङ्घका अध्यक्ष पन्तसहितको टोली भने स्वास्थ्य सामग्री लिएर ट्रमा सेन्टर पुग्यो।
राष्ट्रिय ट्रमा सेन्टरका निमित्त प्रमुख डा. प्रमोद जोशी आउन ढिला हुने भएपछि २ वटा कन्सनट्रेटर र ३ हजार मास्क सेन्टरमा छोडेर सङ्घको टोली बाहिरियो। अध्यक्ष कुमार पन्त प्रतिक्रियाका लागि उपाध्यक्ष रबिना थापालाई देखाउँदै बाहिरिए।
सेन्टरका निमित्त प्रमुख जोशीले मानव अधिकार परिषद्का अध्यक्ष तुलसी थापा र एनआरएनएका एक जना प्रतिनिधिले मास्क र अक्सिजन कन्सनट्रेटर हस्तान्तरण गरेको जानकारी दिए। ‘उहाँहरूले हस्तान्तरण गरेको भरखरै हो,’निमित्त प्रमुख जोशीले उकेरासँग भने,‘के के सामग्री छ, खोलेर हेर्न पाएको छैन।
एनआरएनएकी उपाध्यक्ष थापाले ३ हजार मास्क र अक्सिजन कन्सनट्रेटर केन्द्रीय कारागारमा पनि हस्तान्तरण गर्ने बताइन। ‘ट्रमा सेन्टरमा दिए जति नै स्वास्थ्य सामग्री केन्द्रीय कारागारमा पनि हस्तान्तरण गर्छौ,’थापाले उकेरासँग भनिन्,‘मानवीय सहायता स्वरूप विदेशमा रहेका नेपालीको सहयोगमा स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हौँ।’
मानवअधिकार परिषद्का अध्यक्ष तुलसी थापाले एनआरएनएको सहयोगमा ट्रमा सेन्टरका निमित्त प्रमुख जोशीलाई आफूले स्वास्थ्य सामग्री हस्तान्तरण गरेको बताए। उनले केन्द्रीय कारागारमा पनि एक दुई दिनभित्र स्वास्थ्य सामग्री हस्तान्तरण गर्ने बताए।
कात्तिक २६, २०७८ शुक्रबार १७:०३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।