प्रधानन्यायाधीशले कुर्सी छाेडेनन् भने उनकाे कार्याकालभरि आन्दाेलन हुन्छ: वरिष्ठ अधिवक्ता थापा
काठमाडाैंः वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानन्यायाधीश चाेलेन्द्र शमशेर राणाले राजीनामा नदिए उनकाे कार्यकालभरि आन्दाेलन गर्ने बताएका छन्। आज नेपाल बार एसाेसिएसन परिसरमा भएकाे विराेध सभामा सम्बाेधन गर्दै उनले यस्ताे बताएका हुन्।
'प्रधानन्यायाधीशले कुर्सी छोडेनन् भने उहाँको कार्यकालभरि आन्दोलन जारी रहन्छ। सर्वोच्चलाई बन्ध्याकरण गर्ने काम प्रन्याले गरिरहेका छन्। जोगीलाइ भिक्षा माग्ने अधिकार हुन्छ, महल बनाउने अधिकार हुन्न', थापाले भने।
उनले प्रधानन्यायाधीश राणाकाे बहिर्गमन निश्चित भएकाे बताएका छन्। 'सैनिक र पुलिसको घेराबाट अदालत प्रवेश गरेर न्याय दिन नसक्ने हुनुभएको छ। मूल गेटबाट प्रवेश नगर्ने तपाईं पनि प्रधानन्यायाधीश हो? अब छल्ने उपाय छैन', उनले भने।
उनले राणाले पैसाले अदालत बन्ध्याकरण गरेकाे पनि आराेप लगाए।
यता नेपाल बार एसाेसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले सन्ततिका लागि न्यायालय चाहिए राजीनामा दिन सुझाए। उनले आइतबार पनि आजझैं धर्ना गरिने बताए।
'आजको बेञ्च बहिस्कार गरेका छौं। न्यायका लागि प्रधानन्यायाधीशको बहिर्गमनको लागि सेवाग्राहीलाई पनि आग्रह गर्छु। बारको गेटबाट सर्वोच्च छिर्ने, गेट बन्द गर्ने अधिकार सर्वोच्च प्रशासनलाई छैन। हामी सडकमा जाँदैनौं। गेट बन्द गरेर सडकमा पुर्याइयो। आइतबार त्यो नहोस् म चेतावनी दिन चाहन्छु', उनले भने।
आजकाे विराेध सभामा सम्बाेधन गर्दै वरिष्ठ अधिवक्ता हरिहर दाहाल, नेपाल बारका पूर्वसचिव विजय प्र मिश्र, अधिवक्ता सुरेन्द्र कुमार महतोलगायतले प्रधानन्यायाधीशकाे राजीनामा माग गरेका थिए।
यस्तै आइतबार भने मूलगेट र प्रधानन्यायाधीश प्रवेश गरेकाे अर्काे गेट गरी दुवैमा धर्ना रहने बारले जानकारी दिएकाे छ।
कात्तिक २६, २०७८ शुक्रबार १३:१६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।