युवक हत्याको विरोधमा कैलालीको लम्कीमा सडक अवरुद्ध
धनगढी : कैलालीमा चक्कु प्रहार गरी हत्या भएका युवकका आफन्तले पूर्वपश्चिम राजमार्गको लम्कीमा सडक अवरुद्ध गरेका छन्।
बुधबार बिहानैदेखि सडकमा अवरोध पुर्याउँदा गाडी चल्न सकेका छैनन्।
प्रहरीले अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको बताएको छ। लम्कीचुहा नगरपालिकाका २२ वर्षीय भूपेन्द्र बडूवालको हत्या गरेको आरोपमा ५ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए।
आर्यन देवकोटाबाहेक पक्राउ परेका अन्य चार जनाको नाम प्रहरीले बताएको छैन। टीकापुरस्थित कृषि हाट बजार नजिकै दुईपक्षबीच भएको विवादमा बडूवाललाई देवकोटाको समूहले लखेट्दै चक्कु प्रहार गरेको विष्टले बताए।
कात्तिक २४, २०७८ बुधबार १३:३३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।