समन्वय समिति गठनले कांग्रेसमा असन्तुष्टि, देउवाको कार्यक्रम छाडेर प्रकाशमान बर्दियामा
काठमाडौँ : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजनीतिक समन्वय समितिको नेतृत्व पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेललाई दिएपछि पार्टीभित्रको असन्तुष्टि बाहिर देखिन थालेको छ।
सत्ता गठबन्धन दलको बैठकले समन्वय समिति गठन गर्दै पहिलो दुई महिनाको नेतृत्व कांग्रेस वरिष्ठ नेता पौडेललाई दिने निर्णय गरेको छ।
समन्वय समिति गठन नै संविधान विपरीत रहेको बताएका कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंह प्रधानमन्त्री देउवा प्रमुख अतिथि भएको कार्यक्रममा गएनन्।
गणेशमान सिंहका छोरा प्रकाशमान बुधबार गणेशमानको १०७ औँ जन्मजयन्तीमा गणेशमान सिंह तथा जनआन्दोलन सहिद स्मृति शान्ति प्रतिष्ठानले गरेको कार्यक्रममा नगएका हुन्।
उकेराको टेलिफोन सम्पर्कमा आएको सिंहले आफू यतिवेला बर्दियामा रहेको बताए। गणेशमान सिंहको शालिक अनावरणका लागि आफू बर्दिया आइपुगेको उनले बताए।
‘बिहान शोभाभगतीमा गणेशमानको शालिकमा माल्यार्पण गरे,’सिंहले भने,‘एयरपोर्टबाट बर्दिया आइपुगेको छु।’ प्रतिष्ठानको कार्यक्रमका बारेमा उनले कुनै टिप्पणी गर्न चाहेनन्।
‘गणेशमानको नाममा धेरै सङ्घसंस्थाले कार्यक्रम गरिराखेका छन्,’सिंहले भने,‘सबै ठाउँमा जान भ्याइँदैन।’ निम्तो नै थिएन कि भन्ने प्रश्नमा सिंहले प्रतिष्ठानमा हरेक वर्ष कार्यक्रम भइरहने बताए।
‘काठमाडौँको मात्र हेरेर भएन नि,’उनले भने,‘विभिन्न जिल्लामा पुग्नुपर्छ, बर्दियामा गणेशमानको शालिक अनावरणको लागि आएको छु।’ उनले आफू कार्यक्रममा रहेकाले थप कुरा पछि गर्ने बताए।
कात्तिक २४, २०७८ बुधबार १२:४८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।