प्रमुख अतिथिको विवादले सिन्धुलीमा निषेधाज्ञा : बिपी र पुष्पलालको शालिक अनावरण स्थगित

प्रमुख अतिथिको विवादले सिन्धुलीमा निषेधाज्ञा : बिपी र पुष्पलालको शालिक अनावरण स्थगित

सिन्धुली : जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिकामा निषेधाज्ञा आदेश जारी गरेको छ।

नगरपालिका स्थित स्टल बजार, जुनार चोक, बसपार्क, ग्लाङोला पुल, हस्पिटल रोड क्षेत्र भित्र बिहान ११ बजेदेखि राति १२ बजेसम्म निषेधाज्ञा आदेश जारी गरिएको प्रशासन कार्यालयले जनाएको छ। 

नगरपालिकाका राजनीतिक दलहरूको भद्र सहमतिमा यी क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको सहायक प्रमुख जिल्ला अधिकारी ऋद्धि प्रकाश सिटौलाले जानकारी दिए। कमलामाई नगरपालिकाले सिन्धुली गढी विजयोत्सव कार्यक्रममा दलहरूको सहमतिबिना एमाले नेता ईश्वर पोखरेललाई प्रमुख अतिथि बनाएपछि उत्पन्न विवाद साम्य पार्न निषेधित क्षेत्र घोषणा गरिएको सिटौलाले बताए। 

‘नगरपालिकाले विजयोत्सवको कार्यक्रम र बाल उद्यानमा हुने कार्यक्रमको प्रमुख अतिथि ईश्वर पोखरेललाई बनाएपछि सत्तागठबन्धनले विरोध गरे,’सिटौलाले उकेरासँग भने,‘सर्वदलीय बैठकको भद्र सहमति अनुसार झडप हुन नपाओस् भनेर प्रशासनले निषेधित क्षेत्र घोषणा गरेको हो।’

दलहरूले विजयोत्सवको कार्यक्रममा पोखरेललाई प्रमुख अतिथि हुन दिने र चिल्ड्रेल पार्कमा बिपी कोइराला र पुष्पलालको शालिक अनावरण कार्यक्रम अहिलेलाई स्थगित गर्ने सहमति गरेका छन्।

दलहरुबीच सहमति भए पनि ठुलो सङ्ख्यामा बाल उद्यानमा भिड जम्मा भएकाले निषेधाज्ञा घोषणा गरिएको सिटौलाले बताए। 

निषेधित क्षेत्रमा सभा, जुलुस, समारोह गर्न रोक लगाइएको उनले बताए।

कात्तिक २४, २०७८ बुधबार १२:२२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।