प्रधानन्यायाधीश विवादमा माओवादी मौन, स्थायी कमिटी बैठकमा छलफल नै भएन
मंगलबार बसेको माओवादी स्थायी कमिटीको बैठकमा प्रधानन्यायाधीश विवादबारे छलफल नै नभएको स्थायी कमिटी सदस्य गणेश साहले जानकारी दिए।
‘प्रधानन्यायाधीशको विवादका विषयमा बैठकमा छलफल भएन,’साहले उकेरासँग भने,‘गठबन्धनमा पार्टीबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नारायणकाजी श्रेष्ठ हुनुहुन्छ, आवश्यक परे उहाँहरूले गठबन्धनमा नै छलफल गर्नुहुन्छ।’
उनले प्रधानन्यायाधीशको विवाद पार्टीमा मात्र छलफल हुने विषय नभएको भन्दै सत्ता गठबन्धन दलहरुबीच नै छलफल हुनुपर्ने बताए।
माओवादीको पुस ११, १२ र १३ मा हुने राष्ट्रिय सम्मेलनको तयारीबारे छलफल गर्न मंगलबार बसेको स्थायी कमिटी बैठकमा यो विषय छलफलको एजेन्डामै नपरेको साहले बताए।
साहका अनुसार बैठकमा राष्ट्रिय सम्मेलनमा भूगोलबाट ८ सय र केन्द्रीय कमिटी, सल्लाहकार कमिटी लगायतबाट ५ सय भन्दा धेरै प्रतिनिधि केन्द्रीय सहभागी गराउने विषयमा छलफल भएको छ।
प्रतिनिधिको मोटामोटी सङ्ख्या निर्धारण गरेको शाहले बताए। राष्ट्रिय सम्मेलनले पार्टी अध्यक्ष भने परिवर्तन नगर्ने शाहले बताए। ‘सम्मेलनले पार्टी अध्यक्ष परिवर्तन हुँदैन,’उनले उकेरासँग भने,‘केन्द्रीय कमिटी, स्थायी कमिटी, सल्लाहकार कमिटीमा सङ्ख्या थपघट गर्न सक्छ।’
उनले बैठकमा पार्टीको आन्तरिक जीवनलाई चलायमान गराउने विषयमा छलफल भएको बताए। वडा कमिटी, प्रदेश कमिटीको प्रतिनिधित्वको विषयमा छलफल भएको शाहले बताए।
कात्तिक २३, २०७८ मंगलबार २०:२०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।