तीन स्थानका हिरासत कक्षमा आत्महत्या नै भएको छानबिन समितिको प्रतिवेदन
गृहमन्त्री बालकृष्ण खाँणलाई छानबिन समितिका संयोजक सहसचिव थानेश्वर गौतमले प्रतिवेदन बुझाएका गृह मन्त्रालयले जनाएको छ।
गौतमको संयोजकत्वमा गठित नेपाल प्रहरीका एसपी प्रवीण पोखरेल, राष्ट्रिय अनुसन्धान विभागका उप–अनुसन्धान निर्देशक विकास पाण्डे र कारागार व्यवस्थापन विभागका शाखा अधिकृत गणेश गौतम सदस्य रहेको छानबिन समितिले बुझाएको प्रतिवेदनमा तीनै स्थानमा आत्महत्या भएको दाबी गरिएकाे छ।
गृहमन्त्री खाँणको मन्त्रीस्तरीय निर्णयबाट कार्तिक एक गते जिल्ला प्रहरी कार्यालय सुनसरीको पुरुष हिरासत कक्षमा गत असोज २४ गते अभद्र व्यवहार मुद्दामा पक्राउ परेका भोक्राहा नरसिंह गाउँपालिका–५ का २९ वर्षीय मोहम्मद हकिमले झुन्डिएर गरेको आत्महत्या, इलाका प्रशासन कार्यालय टिकापुर कैलालीको हिरासत कक्षमा भैँसी चोरी गरेको आरोपमा पक्राउ परेका सुर्खेतको चौकुने गाउँपालिका–३ बस्ने ३५ वर्षीय धनबहादुर रानाले असोज २५ गते झुन्डिएर गरेको आत्महत्या र कारागार कार्यालय पर्वतमा जबरजस्ती करणी कसुरमा थुनामा रहेका बन्दी दुर्गाराज पाण्डेले झुन्डिएर गरेको आत्महत्याबारे अध्ययन गर्न मन्त्रालयका सहसचिव गौतमको संयोजकत्वमा छानबिन समिति बनाइएको थियो।
प्रतिवेदन बुझाउँदै समिति संयोजक गौतमले छानबिनका क्रममा भेटिएका प्रमाणले तीन स्थानमै आत्महत्या भएको पुष्टि भएको बताए।
समितिले कारागार र हिरासत कक्षमा हुने आत्महत्या कम गर्न कैदी बन्दीलाई मनोसामाजिक परामर्श दिनुपर्ने, थुनुवालाई निःशुल्क कानुनी परामर्श दिनुपर्ने, हिरासत कक्षमा सुरक्षा निगरानी गर्नुपर्ने, हिरासत कक्षमा राखिएका सिसिटिभीलाई रेकर्डिङ र मोनिटरिङ गर्ने व्यवस्था गर्नु पर्ने लगायतका सुझाव दिएको छ।
कात्तिक २३, २०७८ मंगलबार १९:४२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।