छठकाे तेस्राे दिन आज 'खरना' गरिँदै

छठकाे तेस्राे दिन आज 'खरना' गरिँदै

काठमाडाैंः छठ पर्व विधिवत् सुरुआत भएकाे तीन दिन भएकाे छ। आज तेस्राे दिन ‘खरना’ गरिँदैछ।

छठकाे पहिलो दिन कात्तिक शुक्ल तृतीयामा ‘अरबा–अरबाइन’ र चौथीका दिन ‘नहाय–खाय’ गरेपछि आज पञ्चमी तिथिका दिन ‘खरना’ गर्ने चलन रहेकाे छ।

आजकाे दिन बिहानै स्नान गरी दिनभरि निराहार व्रत बसेर राति सख्खरमा पकाइएको खिर कूलदेवता र छठी देवीलाई चढाएर बर्तालुले त्यही खिर खाने गर्दछन्।

श्रद्धा, निष्ठा र आत्मशुद्धिलाई निकै ख्याल गरिने छठपर्वको ‘खरना’का दिन दिनभर उपवास बसेर बेलुका चन्द्र दर्शन गरिसकेपछि माटोको नयाँ चुल्हो र माटाकै भाँडामा सख्खर, दूध र चामलको खिर पकाउने र त्यसलाई केराको पातमा राखेर छठी मातालाई चढाएर मात्र बर्तालु र परिवारका अन्य सदस्यले प्रसादका रूपमा खाने गर्छन्।

पर्वको चौथो दिन भोलि अर्थात् कात्तिक शुक्ल षष्ठी तिथिका दिन बर्तालुहरू जलाशयमा पुगेर अस्ताउँदो सूर्यलाई पहिलो अर्घ्य दिने गर्दछन्। त्यसैगरी सप्तमीमा बिहान उदाउँदो सूर्यलाई दोस्रो अर्घ्य दिएर पर्व समापन गर्ने प्रचलन छ।

कात्तिक २३, २०७८ मंगलबार ०७:४०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।