प्रधानन्यायाधीशविरुद्ध बार : दङ्गा प्रहरी परिचालन नगर्न अनुरोध, दलहरूलाई ज्ञापन पत्र बुझाउने
काठमाडौँ : नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा नआएसम्म निरन्तर आन्दोलन गर्ने निर्णय गरेको छ।
बार एसोसिएसनको आज बसेको बैठकले भोलिदेखि कार्तिक ३० गतेसम्म निरन्तर कालोपट्टि बाँधेर विरोध प्रदर्शन गर्ने निर्णय गरेको बारका महासचिव लीलामणि पौडेलले जानकारी दिए।
बैठकले उपत्यकास्थित जिल्ला अदालत, उच्च अदालत र न्यायाधिकरणमा बिहान १० बजेदेखि १२ बजेसम्म सुनुवाइ नगरिदिन अनुरोध गर्ने निर्णय गरेको उनले बताए। बारका देशभर रहेका ९० वटा बार इकाईमा कार्तिक २८, २९ र ३० गते विरोध जनाउन अनुरोध गर्ने निर्णय पनि बैठकले गरेको छ।
आन्दोलनका कार्यक्रम अन्तर्गत प्रधानन्यायाधीशलाई आफू सम्मिलित इजलास नतोक्न र तोकेमा इजलासमा नबस्न न्यायाधीशहरुलाई आग्रह गरिएको महासचिव पौडेलले बताए।
पौडेलका अनुसार बार एसोसिएसनले संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूलाई ज्ञापन पत्र बुझाउने छ। दलहरूलाई अहिलेको परिस्थितिबारे जानकारी गराउन ज्ञापन पत्र बुझाउने बारले निर्णय गरेको हो।
बारले अदालत परिसरमा दङ्गा प्रहरी परिचालन नगर्न अदालत प्रशासनलाई आग्रह गर्ने निर्णय पनि गरेको छ। बैठकले बारको श्वेतपत्र पनि जारी गर्ने निर्णय गरेको पौडेलले बताए।
कार्तिक ३० गतेसम्म पनि प्रधानन्यायाधीशको राजीनामा नआए थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने महासचिव पौडेलले बताए।
कात्तिक २२, २०७८ सोमबार २१:२९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।