प्रधानन्यायाधीश विवादमा सत्ता गठबन्धनमा छलफल नै भएन
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा प्रधानन्यायाधीश राणाको राजीनामाको विषयले प्रवेश नै नपाएको नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले बताए।
‘यो विषयले प्रवेश नै गरेन,’श्रेष्ठले उकेरासँग भने,‘अरू त मलाई थाहा भएन।’ न्यायालयभित्रको विकृति अन्त्यका लागि प्रधानन्यायाधीश राणाले राजीनामा दिनु पर्ने भन्दै न्यायाधीशहरुले इजलास बहिष्कार गर्दै आएका छन्।
उनीहरूले बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दा हेरेका छैनन्। नेपाल बार एसोसिएसन र सर्वोच्च अदालत बारले राणाको राजीनामा माग्दै विरोध प्रदर्शन गर्दै आए पनि यो विषयमा सत्ता गठबन्धन दलले छलफल नै नगरेको श्रेष्ठले बताए।
बार एसोसिएसनले राणाको राजीनामा नआए महाअभियोग लगाएर हटाउनु पर्ने बताइरहँदा सत्तारुढ दलहरूको बैठक बसेको थियो।
माओवादी नेता श्रेष्ठले बैठकमा राष्ट्रिय सभा र उपनिर्वाचनमा मिलेर जाने सहमति भएको बताए।
कात्तिक २२, २०७८ सोमबार २१:०४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।