सत्ता गठबन्धन दलको बैठक : राष्ट्रिय सभा चुनावमा मिलेर जाने, पौडेलको नेतृत्वमा संयन्त्र गठन 

सत्ता गठबन्धन दलको बैठक : राष्ट्रिय सभा चुनावमा मिलेर जाने, पौडेलको नेतृत्वमा संयन्त्र गठन 

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धन दलको बैठकले राष्ट्रिय सभा चुनाव मिलेर लड्ने सहमति गरेका एक नेताले बताए।

‘राष्ट्रिय सभा चुनावमा मिलेर जाने सहमति भएको छ,’ती नेताले भने,‘चुनावको तालमेलबारे सहजीकरण गर्ने जिम्मा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वको राजनीतिक संयन्त्रलाई दिइएको छ।’

पाँच दलीय सत्ता गठबन्धनको बैठकले सरकारको कामकारबाहीलाई प्रभावकारी बनाउन संयन्त्र गठन गर्ने निर्णय गरेको हो। 

संयन्त्रमा ५ दलका २२ जना सदस्य रहनेछन्। कांग्रेसबाट पौडेल र कृष्ण सिटौला, माओवादीबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नारायणकाजी श्रेष्ठ सदस्य रहनेछन्।

एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र अर्का एक जना सदस्य, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव र अर्का एक सदस्य र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र अर्का एक जना सदस्य राजनीतिक संयन्त्रमा रहनेछन्।

सत्ता गठबन्धनमा आबद्ध दलले आलोपालो संयन्त्रको नेतृत्व गर्नेछन्। पौडेलले सुरुको दुई महिना संयन्त्रको नेतृत्व गर्नेछन्। 

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धन दलको बैठकले सरकारका काम कारबाहीमा समन्वय गर्ने, गठबन्धनबीच अन्तर्विरोध भए निवारण गर्ने, राष्ट्रिय सभा र उपनिर्वाचनको तालमेलबारे सहजीकरण गर्ने जिम्मेवारी संयन्त्रलाई दिने निर्णय गरेको छ। 

कात्तिक २२, २०७८ सोमबार १९:५६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।