मानार्थ पदवी लिन प्रधानसेनापति भारत जाँदै

मानार्थ पदवी लिन प्रधानसेनापति भारत जाँदै

काठमाडौँ : नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा मङ्गलवार भारत जाँदै छन्। उनले आफ्नो विदेश यात्रा भारतबाट सुरु गर्न लागेका हुन्। उनी मङ्गलवार नेपाली सेनाको जहाजबाट भारत जाँदै छन्।

यसअघिका प्रधानसेनापतिहरुले भारतको धार्मिक स्थल र भारतीय सेनाको पिथौरागढस्थित सैनिक तालिम केन्द्रमा समेत जाने गरे पनि उनको भ्रमण भने दिल्लीमा मात्रै सीमित हुनेछ।

सानो टिम लिएर भारत भ्रमणमा जान लागेका उनीसँग अपरेसन विभाग प्रमुख (डिजिएमओ)  निर्मल थापा प्रधानसेनापतिका सैनिक सहायक चोक ढकाल, महासेनानी सुनिल सुवेदी र प्रमुख सेनानी पवन खत्री सहभागी हुँदैछन्।

चार दिनको भ्रमणमा शर्माले बुधवार भारतीय राष्ट्रपति रामनाथ कोविन्दको हातबाट भारतीय सेनाको मानार्थ  प्रधान सेनापतिको उपाधि ग्रहण गर्ने छन्। सोही दिन उनले भारत सरकारका मन्त्री र उच्च अधिकारीसहित आफ्ना समकक्षीसँग भेटवार्ता गर्दै छन्।

टोली २३ गते भारत गएर कात्तिक २६ मा काठमाडौँ फर्कने कार्यक्रम तय भएको छ।

कात्तिक २२, २०७८ सोमबार ११:०४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।