राजासँगकाे कुरा सुनाउदै ओलीले भने : प्रचण्ड त बाँचे, १७ हजार मरे
एमाले कर्णाली काठमाडौँ सम्पर्क कमिटीले आइतबार काठमाडौँमा गरेको कार्यक्रममा अध्यक्ष ओलीले दरबारमा कुरा हुँदा तत्कालीन राजाले मेरो पुर्खाले आर्ज्याको मुलुक भनेको सुनाए। ‘त्यो कुरा त गाउँघर तिर सोझा सिधा जनतालाई भने हुन्छ सरकार, हामीहरूसँग के कुरा गर्ने त्यसमा,’ओलीले भने,‘हाम्रा पुर्खा लडे, मौसुफका पुर्खा त पछाडि थिए, त्यस कारण मौसुफका पुर्खा बाँचे र इतिहास लेखेँ।’
उनले मौसुफसँगको कुरा सुनाउँदै तत्कालीन माओवादीको सशस्त्र युद्धमा १७ हजार मारिए पनि प्रचण्ड बाँचेको बताए। ‘प्रचण्ड त बाँचे नि,१७ हजार त मरे,’ओलीले भने,‘बाबुराम त बाँचे, बाबुरामका छोराछोरी त बेलायत पढ्थे।’
ओलीले एमाले नभएको भए २०१७ सालमा झैँ अहिले पनि व्यवस्था र संविधानलाई च्यातेर फाल्ने काम भइसक्ने टिप्पणी गरे। ‘हामी बरु सरकार छोड्न तयार छौँ तर संविधान च्यात्न दिँदैनौँ, लोकतन्त्रलाई तलमाथि हुन दिँदैनौँ,’उनले भने,‘हामीले लडेर ल्याएको लोकतन्त्रलाई संरक्षण गर्दै मुलुकलाई समृद्ध बनाउन हामी कटिबद्ध छौँ।’
कात्तिक २१, २०७८ आइतबार १८:४६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।