बुद्ध मूर्ति अनावरण गर्न राष्ट्रपति भण्डारी रुपन्देही आउँदै

बुद्ध मूर्ति अनावरण गर्न राष्ट्रपति भण्डारी रुपन्देही आउँदै

बुटवलः राष्ट्रपति विद्यादेवी भण्डारी आज रुपन्देही आउँदै छिन्। भैरहवामा बुद्ध मूर्ति अनावरण तथा लुम्बिनीमा बज्रयान विहारको अवलोकन, मायादेवीमा पूजा तथा लुम्बिनी गुरुयोजनाका बारेमा जानकारी लिन राष्ट्रपती भण्डारी रुपन्देही आउन लागेकी हुन्।

कार्यक्रममा कार्यवाहक प्रधानमन्त्री एवं गृहमन्त्री बालकृष्ण खाँण र संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेसमेत सहभागी हुनेछन्। शनिबार नै राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सीना, पूर्वमन्त्री कृष्णगोपाल श्रेष्ठ, बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठ, बागमती प्रदेशका पूर्वमन्त्री अजयक्रान्ति शाक्य, सांसद नवराज सिलवाल, सूर्य पाठक, काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्य, उपप्रमुख हरिप्रभा खड्कीलगायत रुपन्देहीमा आइसकेका छन्।

लुम्बिनीमा हुने कार्यक्रम सम्पन्नपछि विमानस्थलमा ह्वाईट जेड बुद्ध मुर्ति अनावरण गर्ने कार्यक्रम रहेको लुम्बिनी विकास कोषका सदस्यसचिव सानुराजा शाक्यले बताए। सो बुद्धमूर्ति लुम्बिनी गार्डेन फाउण्डेशनको पहलमा बर्माबाट ल्याइएको हो। 

फाउण्डेशनको निमन्त्रणामा स्पेनको एक्सत्रेमादुरा प्रदेशका सभामुख बेलानका मार्टिन डेलगाडो, संस्कृतिमन्त्री नुरिया फलोरेश रेडोन्डोसहित प्रतिनिधिमण्डल पनि रुपन्देहीमा आइसकेका छन्।

राष्ट्रका उच्च अधिकारीहरू जिल्ला आउन लागेसँगै रुपन्देहीको सुरक्षा व्यवस्थालाई कडा बनाइएको प्रमुख जिल्ला अधिकारी श्रषिराम तिवारीले बताए।

कात्तिक १४, २०७८ आइतबार १०:२४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।