गृहमा सुरक्षा समिति बैठक : शरणार्थीको अवैध प्रवेश रोक्न सीमामा कडाइ गरिने
काठमाडौँ : केन्द्रीय सुरक्षा समिति बैठकले अवैधानिक रूपमा नेपाल प्रवेश रोक्न सीमा नाकामा कडाइ गर्ने निर्णय गरेको छ। बैठकमा अफगानी नागरिक र अन्य देशका नागरिक कति छन् भन्नेबारेमा सुरक्षा निकायका प्रमुखहरूले कार्यवाहक प्रधानमन्त्रीलाई ब्रिफिङ गरेका थिए।
कार्यवाहक प्रधानमन्त्री एवं गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा शुक्रवार गृह मन्त्रालयमा बसेको बैठकले सीमामा कडाइ गर्न नाकामा सिसिटिभी जडान गर्ने, नाकामा आवतजावत गर्दा अनिवार्य रूपमा परिचय पत्र देखाउनु पर्ने व्यवस्था गर्ने, अध्यागमन एवं सुरक्षा निकायको परिचालन अझ प्रभावकारी गराउने निर्णय गरेको हो।
पछिल्लो समय कोभिड–१९ को सङ्क्रमण बढ्न थालेकाले नाकामै स्वास्थ्य जाँच गर्ने व्यवस्था गर्ने बैठकले निर्णय गरेको छ।
बैठकमा कार्यवाहक प्रधानमन्त्री एवं गृहमन्त्री खाँणले अनधिकृतरुपमा विदेशी नागरिक नेपाल प्रवेश गर्न नदिन सीमा नाका एवं अन्तर्राष्ट्रिय विमानस्थलहरू कडाइ गर्नु पर्ने बताएका थिए।
बैठकमा रक्षा सचिव बेगेन्द्रराज शर्मा पौड्याल, गृह मन्त्रालयका निमित्त सचिव प्रदीप कोइराला, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक गणेशप्रसाद अधिकारी सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, नेपाली सेनाका उपरथी निर्मलकुमार थापा, नेपाल प्रहरी अतिरिक्त महानिरीक्षक प्रधुन्न कुमार कार्की सहभागी थिए।
अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराई काठमाडौँ जिल्लाका प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजाल समेत बैठकमा थिए।
कात्तिक १२, २०७८ शुक्रबार २१:४७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।