विवेकशीलमा विवाद : पाण्डे समूहले मिश्रलाई कारबाही गर्ने
काठमाडौँ : विवेकशील साझा पार्टीको मिलन पाण्डे समूहले रवीन्द्र मिश्रको मार्ग परिवर्तनलाई खारेज गर्ने निर्णय गरेको छ। पाण्डे समूहको केन्द्रीय समितिले मिश्रलाई विधान र सम्झौता पत्र विपरीत काम गरेकोमा कारबाही गर्न न्याय तथा सुशासन आयोग गठन गर्ने निर्णय गरेको पाण्डे समूहले जनाएको छ।
पाण्डे समूहको बैठकले पार्टी अध्यक्ष मिश्रद्वारा सार्वजनिक गरिएको प्रस्तावित दस्ताबेज वैकल्पिक राजनीतिको मूल आशय र मर्म विपरीत आएको ठहर गर्दै त्यसलाई खारेज गर्ने निर्णय गरेको प्रवक्ता हरिस भट्टले निकालेको विज्ञप्तिमा उल्लेख छ।
मिश्रको प्रस्तावित मार्ग परिवर्तनको दस्ताबेज विवेकशील साझा पार्टीको विधान, एकीकरण घोषणापत्र र एकीकरण सम्झौता पत्रले सुम्पेको राजनीतिक कार्यभार विपरीत आएको बैठकले ठहर गरेको विज्ञप्तिमा लेखिएको छ।
सो दस्ताबेजले पार्टीको विधानलाई मिचेको, जनआन्दोलनका उपलब्धिहरूलाई अवमूल्यन गरेको र जनताको अपूर्व बलिदानबाट निर्माण गरिएको संविधानलाई निस्तेज बनाउँदै सामाजिक द्वन्द्व निम्त्याउने खतरा बढेको ठहर पनि बैठकले गरेको छ।
यस्तै बैठकले पार्टीलाई विभाजनतर्फ लगेको ठहर गरेको विवेकशील साझाको विज्ञप्तिमा उल्लेख छ। पार्टी अध्यक्ष लगायतबाट भएको अनुशासन उलङ्घनका घटना छानबिन गरी दोषीलाई कारबाही गर्न आशुतोष तिवारी प्रमुख रहेको न्याय तथा सुशासन आयोग गठन गर्ने निर्णय बैठकले गरेको छ।
विवेकशील साझाले ‘विवेकशील साझा पार्टी सुदृढीकरण अभियान’ सञ्चालन गर्ने निर्णय पनि गरेको छ। अभियान सञ्चालन गर्न केन्द्रमा पार्टी संयोजकको संयोजकत्वमा सम्पूर्ण केन्द्रीय सदस्यहरू सहित २०१ सदस्यीय अभियान परिचालन केन्द्रीय समिति, प्रदेशमा ५१ सदस्यीय अभियान परिचालन प्रदेश समिति, जिल्ला र नगरमा २५ सदस्यीय सदस्यीय अभियान परिचालन समितिहरू निर्माण गर्ने निर्णय गरिएको विवेकशील साझाले जनाएको छ।
कात्तिक १२, २०७८ शुक्रबार १८:४१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।