पहिरोले अवरुद्ध सडक सञ्चालन गर्न सेना खटियो
काठमाडौँ : नेपाली सेनाले विगत एक वर्षदेखि पहिरोका कारण अवरुद्ध सुलिचौर-अरेश-प्युठान सडकखण्डको अवरोध हटाउने काम सुरु भएको जनाएको छ।
रोल्पा जिल्लामा तैनाथ नेपाली सेनाको बटुकदल गणले कार्तिक ७ गतेदेखि दैनिक रूपमा ब्लाष्टर टोली प्रयोग गरी सडकखण्डमा रहेको अवरोध हटाउन ब्लाष्टिङ्ग कार्य गरिरहेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ।
सडकखण्डको धनचौर इलाकामा पहिरो गएको छ। पहिरोले सडक अवरुद्ध हुँदा रोल्पा तथा प्युठान जिल्लाका दुर्गम स्थानमा बसोबास गर्ने सर्वसाधारणलाई यातायात तथा सामान ढुवानीमा कठिनाइ भएको छ।
पहिरो सहित आएको ठुलो ढुङ्गाले सो सडक खण्डको करिब २० मिटर भागमा अवरोध सिर्जना गरेको हुँदा उक्त पहिरो तथा ढुङ्गा हटाई पूर्ण रूपमा सडक सुचारु हुन थप केही समय लाग्ने निर्देशनालयले जनाएको छ।
जिल्ला प्रशासन कार्यालय, रोल्पा तथा सुनिल स्मृति गाउँपालिकाको पहलमा नेपाली सेनाले सडकको अवरोध हटाउने काम सुरु गरेको जनाएको छ।
कात्तिक १२, २०७८ शुक्रबार १८:१९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।