एमाले केन्द्रीय कमिटी बैठकमा ओली र रावलको भनाभन, अष्टलक्ष्मीको हस्तक्षेप
काठमाडौँ : पार्टी अध्यक्ष केपी शर्मा ओलीले कार्यदलको संयोजक पदबाट राजीनामा दिएकाले अब १० बुँदेको औचित्य नभएको बताएपछि एमालेको केन्द्रीय कमिटी बैठकमा ओली र भीम रावलबिच भनाभन भयो।
बैठकमा रावलले १० बुँदे सहमति कार्यान्वयन नभएको भन्दै बोल्न थालेपछि ओलीले बिचैमा आफैले काम गर्न सक्दिन भनेर राजीनामा किन दिएको भन्दै अब औचित्य सकियो भनेपछि उनले प्रतिवाद गरेका थिए।
ओलीले केही असमझदारी बाँकी भए अब पार्टी कमिटीमा छलफल हुने बताएपछि रावलले काम गर्न नसकेर हैन कार्यान्वयन भएर राजीनामा दिएको भन्दै आफ्ना भनाई राखेका थिए।
दुवै नेताबिच बैठकमा भनाभन बढ्न थालेपछि १० बुँदेको पक्षमा रहेकी स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यले नै रावललाई सम्झाएकी थिइन्। अर्का नेता अमृतकुमार बोहराले पनि रावललाई रोकेपछि दुवैको भनाभन सकिएको थियो।
भुसाललाई जवाफ : अब चिठीको क्षेप्यास्त्र काम छैन
१० बुँदे जस्ताकोत्यस्तै लागु हुनुपर्छ भनेर पत्र लेखेका अर्का नेता घनश्याम भुसाललाई पनि ओलीले शुक्रवारको बैठकमा जवाफ दिए। उनले भुसालको चिठीको जवाफ दिनै आवश्यक नभएको भन्दै उनलाई पनि कुनै समस्या भए चिठीको क्षेप्यास्त्र नहानी पार्टीको कमिटीमा छलफल गर्न सुझाव दिए।
प्रभु साह फर्किए
आफू एमालेमा नरहेको भन्दै बाहिरिएका पूर्व माओवादी नेता प्रभु साह शुक्रवारको पार्टी बैठकमा सहभागी भए। उनको माग अनुसार ओलीले २ जना केन्द्रीय सदस्य थपिदिएपछि उनी एमालेमा फर्किएका हुन्।
बैठकमा कुन्दन कुशवाह र मोहम्मद समीरले केन्द्रीय सदस्यको शपथ लिएका थिए। यसमा पनि रावलले भने असहमति जनाएका थिए।
कात्तिक १२, २०७८ शुक्रबार १८:१६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।