एमालेले बढायो प्रतिनिधिको सङ्ख्या, अब १ हजार ९९९ जना हुने
काठमाडौँ : नेकपा एमालेले १० औँ राष्ट्रिय महाधिवेशनका लागि १ हजार ९९९ जना प्रतिनिधि चयन गर्ने निर्णय गरेको छ।
पार्टी केन्द्रीय कमिटीको आज बसेको बैठकले स्थायी कमिटीले गरेको निर्णयमा थप ४ सय प्रतिनिधि चयन गर्ने निर्णय गरेको प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिए।
स्थायी कमिटीको बैठकले १५३६ प्रतिनिधि चयन गर्ने निर्णय गरेको थियो। प्रतिनिधि चयनका लागि कार्तिक २७ गते निर्वाचनको मिति तोकेको ज्ञवालीले बताए।
केन्द्रीय कमिटीको बैठकले १० औँ राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन कमिटीमा २ जना सदस्य थप गर्ने निर्णय गरेको छ। रघुजी पन्त र शेरबहादुर तामाङलाई व्यवस्थापन कमिटीको सदस्य बनाउने निर्णय भएको प्रवक्ता ज्ञवालीले जानकारी दिए।
केन्द्रीय कमिटी बैठकमा विद्युतीय भोटिङ मेशिनको परीक्षण भएको र महाधिवेशनमा भोटिङ मेशिन प्रयोग गर्ने निर्णय गरिएको उनले बताए।
अब केन्द्रीय कमिटीको बैठक मङ्सिर ९ गते चितवनको सौराहामा बस्नेछ।
कात्तिक १२, २०७८ शुक्रबार १७:४०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।