प्रधानन्यायाधीशविरुद्ध बारको निर्णय : राजीनामा दिन अल्टिमेटम
काठमाडौँ : नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई इजलासमा नबस्न माग गरेको छ।
प्रधानन्यायाधीशले विकृति, विसङ्गति, भ्रष्ट्राचार रोक्न नसकेको, न्यायपालिकाको स्वच्छता, गरिमा कायम राख्न नसकेकोले राजीनामा मागिएको हुँदा सर्वोच्च अदालतको इजलासमा नबस्न माग गर्ने बारले निर्णय गरेको जानकारी दिएको छ।
बार एसोसिएसन कार्य समितिको आज बसेको बैठकले कार्तिक १४, १५, १६ र १७ गते बिहान १० बजेदेखि ११ बजेसम्म सर्वोच्च अदालतमा कालोपट्टि बाँधी विरोध कार्यक्रम गर्ने निर्णय पनि गरेको बारका महासचिव लीलामणि पौडेलले जानकारी दिए।
बारले बैठकपछि निकालेको विज्ञप्तिमा सो कार्यक्रममा सक्रियतापूर्वक सहभागी हुन काठमाडौँ उपत्यकाकामा रहेका बार एकाइका कानुन व्यवसायीहरू लगायत सम्पूर्ण कानुन व्यवसायीहरूलाई अनुरोध गर्ने उल्लेख छ।
कार्तिक १६ गते सर्वोच्च अदालत प्राङ्गणमा धर्ना तथा विरोध सभा गर्ने, न्यायपालिकाको वर्तमान अवस्था र ९० वटै बार एकाइहरूमा परिपत्र गरेर निर्णय कार्यान्वयन गर्न अनुरोध गर्ने निर्णय बारले गरेको छ।
आन्दोलनको कार्यक्रम अवधिभित्र पनि राजीनामा नआए थप विरोधका कार्यक्रमहरू घोषणा गर्ने बारले विज्ञप्ति मार्फत चेतावनी दिएकाे छ। ।
न्यायपालिकाको समग्र सुधारका लागी र सेवाग्राहीहरूलाई समान रूपमा सहज, सरल र सुपथ न्याय प्रदान हुने सुनिश्चितता गराउने उद्देश्यले यो बाध्यात्मक कार्यक्रम गरिएको बारले उल्लेख गरेको छ।
कात्तिक १२, २०७८ शुक्रबार १७:११:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।