स्क्विड गेममा खेलाइएका ६ खेलहरू, के नेपालमा पनि खेलिन्छ ?

स्क्विड गेममा खेलाइएका ६ खेलहरू, के नेपालमा पनि खेलिन्छ ?

काठमाडौँ : प्रदर्शन भएको झन्डै एक महिना पुगिसक्दा पनि चर्चा कम नभएको सिरिज स्क्विड गेम नेटफिल्क्समा हालसम्मकै धेरै कमाइ गर्ने सिरिज बन्न पुगेको छ। स्क्विड गेम सिरिजले तहल्का मच्चाएसँगै त्यसमा खेलाइएका खेलहरूको पनि चर्चा चलेको छ। 

कोरियामा बालबालिकाले खेल्ने खेलहरूलाई सिरिजमा देखाइएको छ। नेपालमा पनि त्यस्तै प्रकृतिका खेलहरू खेलाइन्छ तर दुरुस्तै उस्तै भने छैनन्।

रेड लाइट, ग्रिन लाइट

स्क्विड गेममा खेलाइएको पहिलो खेल हो रेड लाइट, ग्रिन लाइट। यो खेल कोरियाका बालबालिकामा निकै प्रसिद्ध खेलमध्ये एक हो। फिल्ममा एउटा विशाल पुतलीले प्रतिस्पर्धीको पछाडि फर्किएर हु गु गा को चि फि अ सुन्नी दा अर्थात् रातो बत्ती, हरियो बत्ती भनिसकेर मुन्टो फर्काउँदा खेलका प्रतिस्पर्धीहरू जहाँ छन्, त्यहाँ नहल्लीकनै बस्नुपर्ने हुन्छ। 

खेलमा निश्चित समय तोकिएको हुन्छ। प्रतिस्पर्धीहरूले उक्त समयमा जितका लागि तय गरिएको घेरा पार गरिसकेको हुनुपर्ने छ। जो हल्लिन्छन् र समयमा जितका लागि तयार पारिएको घेरा पुग्न सक्दैनन् उनीहरू खेलबाट बाहिरिन्छन्।

नेपालमा पनि रेड लाइट, ग्रिन लाइट जस्तै बालबालिकाले खेल्ने खेलहरू छन्। बच्चा बेलामा स्कुलहरूले खेलाउने एसटिओपी स्टप खेल नेपालमा पनि खेलिन्छ। एसटिओपी स्टप खेलमा खेलाडीहरू दौडिन्छन् तर स्टप भनेपछि नहल्लिएरै बस्नुपर्ने हुन्छ।

रेड लाइट, ग्रिन लाइट जस्तै अर्को खेल हो म्युजिकल चियर। यो खेलमा पनि पुतलीको ठाउँमा बाजा बजाउने मानिस हुन्छ। उसले प्रतिस्पर्धीलाई हेर्न पाउँदैन र बाजा बजाउने र रोक्ने जिम्मा उसैको हुन्छ। कुर्सीको वरपर बाजाको तालमा झुम्दै खेलाडीहरू दौडिन्छन्। जब बाजा बन्द हुन्छ उनीहरू कुर्सीमा बसिसक्नुपर्ने हुन्छ। 

आयोजकले कुर्सीको सङ्ख्या घटाउँदै जाँदा खेलबाट खेलाडी पनि बाहिरिँदै जान्छन्। अन्त्यमा एउटा मात्रै कुर्सी बाँकी रहन्छ। जो त्यो कुर्सीमा बस्छ उही विजेता बन्छ।

निडल एन्ड हनि बम

स्क्विड गेममा खेलाइएको दोस्रो खेल हो निडल एन्ड हनि बम अर्थात् दाल्गोना। दाल्गोना अर्थात् यस्तै प्रकृतिको खेल भने नेपालमा खेलिएको पाइँदैन। यो खेलमा चिनी पगालेर त्यसमा त्रिभुजाकार, गोलाकार, ताराकार र छाता आकारमा चित्रहरू बनाइएको हुन्छ।

जसले नफुटाई, नभत्काई त्यो आकार निकाल्न सक्छ, जित उसैको हुन्छ। जसले आकार निकाल्न सक्दैन उ खेलबाट बाहिरिन्छ।

टग अफ वार

सिरिजमा खेलाइएको तेस्रो खेल हो टग अफ वार अर्थात् डोरी तान्ने खेल। यो खेल नेपालमा पनि खेलाइन्छ। 

सिरिजमा सुरुमा दश दश जनाको समूह बनाउन लगाइन्छ। दुई समूहलाई टावरमा लगेर डोरी तान्न लगाइन्छ। जसले डोरी आफूतिर तान्न सक्छ उही विजेता बन्छ।

डोरी तान्ने खेल नेपालमा विवाहको समयमा समेत खेलाइन्छ। बेहुला पक्ष र बेहुली पक्षको बीचमा खेलाइने यो खेल निकै रमाइलोसँग खेलिन्छ। जुन पक्षले खेल जित्न सक्यो बेहुला बेहुलीमा जिन्दगीभर उसैले राज गर्न पाउने मान्यता खेलको छ। 

मार्बल गेम

दुई जनाको जोडी बनाएर सिरिजमा गुच्चा खेलाइन्छ। प्रत्येक प्रतिस्पर्धीलाई दश दश ओटा गुच्चा दिइन्छ। उनीहरूले आफूसँग गुच्चा खेल्ने प्रतिस्पर्धीको भागको दश गुच्चा जितेमा खेले जित्छ। 

बच्चा बेलामा खेल्ने विभिन्न गुच्चाका खेलहरू सिरिजमा खेलेको देखाइन्छ। जसमा जोर बिजोर, कसले टाढा पुर्याउने, खोपीमा कसले गुच्चा खसाल्ने, पिलो लगायतका गुच्चाका खेलहरू खेल्न सुरु हुन्छ।

नेपालको विशेषतः गाउँले बालबालिकाको प्रिय खेल हो गुच्चा। इन्द्रेनी हान्ने, खोपिल्टोमा खसाल्ने, पिलो लगायतका गुच्चा खेल नेपालमा प्रसिद्ध छन्।

ग्लासेस स्टेपिङ स्टोन्स

ग्लासेस स्टेपिङ स्टोन्स अर्थात् सिसाको पुलमा हिँड्ने खेल। यो खेलमा दुई प्रकारको सिसा प्रयोग गरिएको हुन्छ। जसमा एउटा हुन्छ टेम्पर ग्लास र अर्को नर्मल ग्लास। टेम्पर ग्लासको दुई जनासम्म उभिन मिल्ने क्षमता हुन्छ भने सामान्य ग्लासमा खुट्टा पर्ने बित्तिकै फुटिहाल्छ। जसले सामान्य सिसामा खुट्टा राख्छ उ खेलबाट बाहिरिन्छ। नेपालमा यस्ता खेलहरू बालबालिकाले खेल्दैनन्। 

स्क्विड गेम

सिरिजको नाम राखिएको खेल स्क्विड गेम अन्त्यमा खेलाइने खेल हो। यो खेल कोरियाका बालबालिकामा निकै चर्चित खेल हो। खेलमा स्विड नामको एक सामुन्द्रिक किराको आकारमा चित्रहरू बनाइएको हुन्छ। जसमा गोलाकार, त्रिभुजाकार, वर्गाकार रेखाहरू कोरिएका हुन्छन्।

यो खेल समूहमा खेलिने खेल हो। दुई समूहमा एउटा डिफेन्स गर्ने समूह हुन्छ अर्को अफेन्डर। खेल सुरु भएपछि डिफेन्डरले रेखाभित्र दुई खुट्टा टेकेर हिँड्न पाउँछ। तर रेखा बाहिर भएको अफेन्डरले भने भित्र छिर्न एक खुट्टा मात्रै प्रयोग गर्न पाउँछ। तर यदि अफेन्डरले बिचमा भएको दुई रेखाभित्रबाट आफूलाई क्रस गर्न सक्यो भने उसले दुवै खुट्टा प्रयोग गर्न पाउँछ। 

समूहमा खेल्दा समूहको नाइकेले स्क्विडको टाउकोमा टेक्न सफल भएमा त्यो टोली विजेता बन्छ।

नेपालमा स्क्विड खेल जस्तै खेल त खेलिँदैन। तर यसको प्रकृति हुतुतु अर्थात् कबड्डीसँग र खुट्टी खेलसँगलाई मिलाउने हो भने एकै जस्तो लाग्छ। 

खुट्टी खेलमा कोठाहरू बनाएर एक खुट्टाले ढुङ्गालाई निश्चित बिन्दुमा पुर्याइन्छ। त्यस्तै समूहमा खेलिने कबड्डीले अफेन्डर र डिफेन्डरको भूमिका खेलेको हुन्छ। दुवै खेलको प्रकृति भने भिन्न भिन्न नै हुन्।

कात्तिक १२, २०७८ शुक्रबार १७:१०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।