प्रधानन्यायाधीश राणाविरुद्ध कठोर भयो बार : अदालत छिर्न नदिने सहितका आन्दोलनको घोषणा
काठमाडौँ : प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले राजीनामाको सुझाव अस्वीकार गरेपछि नेपाल बार एसोसिएसनले उनलाई अदालतमा प्रवेश गर्न नदिने लगायतका भद्र आन्दोलित तय गरेको छ।
बारले यस अगाडि राणालाई मार्ग प्रशस्त गर्न सुझाव दिएको थियो। बारको सुझावपछि राणाले विभिन्न सञ्चारमाध्यममा अन्तर्वार्ता दिँदै आफू संविधान अनुसार नियुक्त भएकाले संविधान अनुसार मात्रै बाहिरिने सन्देश दिएपछि बारले नयाँ आन्दोलनको घोषणा गरेको हो।
शुक्रवार बसेको बैठकले सर्वोच्च बारले नेपाल बारलाई दिएको सुझाव अनुसार आइतबार १ घण्टा कालोपट्टि बाँधेर प्रधानन्यायाधीशको विरोध गर्ने कार्यक्रम तय भएको बारका केन्द्रीय सदस्य बालकृष्ण गैरेले उकेरालाई जानकारी दिए।
कार्यक्रम अनुसार सोमबार देशभरका अदालतमा १ घण्टा कालो पट्टी बाँधेर विरोध गर्ने, मङ्गलवार सर्वोच्च अदालतको गेटमा कालो पट्टी सहित धर्ना दिने र बुधवार कालो पट्टी बाँधेर प्रधानन्यायाधीशलाई ज्ञापन पत्र बुझाउने बार एसोसिएसनले निर्णय गरेको गैरेले बताए।
यस्तै बिहीबार साङ्लो बनाएर सर्वोच्च अदालत घेराउ गर्ने र प्रधानन्यायाधीश राणालाई अदालत छिर्न नदिने निर्णय बारले गरेको केन्द्रीय सदस्य गैरेले जानकारी दिए।
न्यायालयको सुधारका लागि भन्दै न्यायाधीशहरुले सर्वोच्च अदालतको पूर्ण बैठक बहिष्कार गरेर इजलासमै बसेका छैनन्। उनीहरूले राणालाई मार्ग प्रशस्त गर्न भनेका छन्। चार पूर्व प्रधानन्यायाधीश लगायतकाले पनि राणालाई राजीनामा दिन आग्रह गर्दै आएका छन्। राजीनामाको दबाब बढ्दै गएपछि र दलका नेताहरू महाअभियोगको पक्षमा नखुलेपछि राणा भने संवैधानिक प्रक्रियाविना बाटोबाट राजीनामा माग्दैमा नदिने प्रतिक्रिया दिँदै आएका छन्।
कात्तिक १२, २०७८ शुक्रबार १६:११:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।