नाराबाजीमै अन्त्य भयो संसद् अधिवेशन
काठमाडौँ : सङ्घीय संसद्को चालु अधिवेशन आज राति १२ बजेदेखि अन्त्य हुँदैछ। सङ्घीय संसद् सचिवालयले सूचना निकालेर आज राति १२ बजेबाट संसद्को चालु अधिवेशन अन्त्य हुने जानकारी दिएको छ।
कार्तिक २९ गतेका लागि तोकिएको प्रतिनिधि सभाको बैठक र असोज २५ गते स्थगित भएको राष्ट्रिय सभाको बैठक समेत अन्त्य भएको सूचना संसद्का मुख्यसचिव भरतराज गौतमले निकालेका छन्।
भदौ २३ गते सुरु भएको प्रतिनिधि सभाको बैठक कार्तिक ११ गतेसम्म जम्मा ५१ दिन चालु रह्यो। १२ दिनमा १३ पटक बैठक बस्यो।
एमालेले अधिवेशन अवधिभरका बैठकहरूमा अवरोध जारी राख्यो। पार्टीले कारबाही गरेका १४ सांसदलाई निलम्बन गर्न माग गर्दै एमाले सांसदले सबै बैठकमा नाराबाजी गरे।
नाराबाजीकैबीच सरकारले अध्यादेश बजेटलाई प्रतिस्थापन गर्न ल्याएको विधेयक संसद्ले पारित गर्यो।
संसद्ले पारित गरेका आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र विनियोजन विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भएको छ।
संसद्मा ४२ वटा विधेयकहरू रहेका छन्। अघिल्लो अधिवेशनबाट प्राप्त विधेयक मध्ये सरकारले सङ्घीय निजामती सेवा विधेयक र रेल्वे विधेयक फिर्ता लिएको छ। विधेयक फिर्ता लिने प्रस्ताव पनि एमाले सांसदको नाराबाजीकैबीच पारित भएको छ।
संसद्को अधिवेशनमा महालेखा परीक्षकको अन्ठाउन्नौं वार्षिक प्रतिवेदन, राष्ट्रिय दलित आयोग र मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस भएका सङ्घीय संसद् सचिवालयले जनाएको छ।
कात्तिक १२, २०७८ शुक्रबार १५:५१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।