गुलाब मिठाई सुन्धारालाई २ लाख रुपैयाँ जरिवाना: मिठाई बनाउन म्याद सकिएकाे रङ्गको प्रयोग 

गुलाब मिठाई सुन्धारालाई २ लाख रुपैयाँ जरिवाना: मिठाई बनाउन म्याद सकिएकाे रङ्गको प्रयोग 

काठमाडौंः गुलाब मिठाई सुन्धारालाई २ लाख रुपैयाँ जरिवाना गरिएको छ। आज काठमाडौं महानगरको बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिले गरेको अनुगमनका क्रममा पसलको भान्छामा म्याद सकिएका रङ्ग, अन्य कम्पनीले उत्पादन गरेका खाद्यबस्तुमा आफ्नो लेवल र आफूले उत्पादन गरेका खाद्यबस्तुमा भारतीय कम्पनीको लेवल राखेको, उत्पादन मिति उल्लेख नभएका पेय बिक्री गरेको पाइएको थियो।

 

यसअघि अनुगमन टोलीले नयाँ सडकमा रहेको पसलको पनि निरीक्षण गरेको थियो। त्यसक्रममा उत्पादन मिति उल्लेख नभएका चिउराका बोराहरू फेला पारेको थियो। 'अनुचित व्यापारिक क्रियाकलाप भएकोले जरिवाना तिराउनु परेको हो', निरीक्षण अधिकृत हरिबहादुर भण्डारीले भने, ‘यसअघि दिइएका निर्देशनको पालना गर्ने वा त्यसका लागि तत्परता नदेखिएपछि जरिवाना तिराएका हौँ।’ 

यसअघि ०७६ कात्तिक ८ गते महानगरले साेही पसलमा गएर सुधार गर्न भनेको थियो। त्यसबेला तिहारका लागि मिठाई प्याकिङ गरेर दिइने बक्सहरू भुईँमा राखेर पट्याउने काम भइरहेको थियो। बक्स बनाउन खटिएका कर्मचारीहरूले जुत्ता लगाएका थिए तर हातमा पञ्जा, शरीरमा एप्रोन तथा टाउको छोप्ने कुनै सामान प्रयोग गरेका थिएनन्। 

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य निरीक्षक कौशल ओझा गुलाबमा भेटिएका सामाग्री खाद्य सुरक्षाका कोणबाट गम्भीर असर पुर्याउन सक्ने खालका भएकाे बताउँछन्। 

‘यस्ता कारबाहीलाई सांकेतिक मान्नुपर्छ। समय दिँदा पनि सुधार नगर्नेलाई हदैसम्मको कानूनी दायरामा नल्याई उपभोक्ताहरू ठगिने क्रम रोकिँदैन’, उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिना भन्छन्, ‘मिठाई पसलको भान्छा सरसफाइ गर्न गए जस्तो भएको छ। एक दुईबाहेक अरूको मिठाई उत्पादनको चक्रमा कतै न कतै समस्या भेटिइहाल्छ। अहिले मापदण्ड कार्यान्वयनका लागि व्यवसायी र नियमनका लागि सरकारको तत्परता चाहिएको छ।’

सालिमार हस्पिटालिटी एण्ड फुड प्रा. लि. का नाममा दर्ता भएर गुलाब ब्राण्डका मिठाई उत्पादन तथा बिक्री हुँदै आएको छ। 

कात्तिक १२, २०७८ शुक्रबार १४:२४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।