महाकालीमा डुङ्गा दुर्घटना हुँदा १३ वर्षीया बालिकाकाे मृत्यु, ८ वर्षीय बालक बेपत्ता
बैतडीः महाकाली नदीमा डुङ्गा दुर्घटना हुँदा एकको मृत्यु भएको छ। यस्तै साेही दुर्घटनामा एक जना बेपत्ता भएका छन्।
मृत्यु हुनेमा बैतडी शिवनाथ गाउँपालिका–१ की १३ वर्षीया मीना साउद रहेकी छन्। यस्तै शिवनाथ–१ कै ८ वर्षीय सन्दीप साउद बेपत्ता भएका प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए।
महाकाली नदीकाे शिवनाथ–१ खाँडघाटमा बुधबार साँझ १० जना सवार डुङ्गा दुर्घटनामा परेको थियाे। दुर्घटनामा परी मीना र सन्दीप बेपत्ता रहेकामा मीनाको शव आज बिहान ७ः३० बजे महाकाली नदी किनारमा फेला परेको प्रहरीले जनाएको छ। सन्दीपको खोजीकार्यका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ।
डुङ्गामा सवार अन्य ८ जना सकुशल रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ। दुर्घटनाकाे कारण खुल्न नसकेकाे प्रहरीले जनाएकाे छ। शिवनाथ गाउँपालिकाका स्थानीय भारततर्फ आउजाउ गर्दा डुङ्गाकाे प्रयाेग गर्ने गर्छन्।
कात्तिक ११, २०७८ बिहीबार १०:२४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।