बेल्जियममा काम लगाइदिने प्रलोभन देखाएर युवती बेचेको आरोपमा खड्का पक्राउ

बेल्जियममा काम लगाइदिने प्रलोभन देखाएर युवती बेचेको आरोपमा खड्का पक्राउ

काठमाडौंः बेल्जियममा काम लगादिने प्रलोभन देखाई युवतीलाई बैंकक पुर्याएर बेचेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। 

लमजुङ घर भएकी युवतीलाई बैंकक पुर्याएर बेचेको आरोपमा बाग्लुङ, गल्कोट नगरपालिका-४ घर भएका वर्षीय राजेन्द्र खड्का पक्राउ परेका हुन्। ४४ वर्षीय खड्काले विगत ८ वर्षदेखि थाइल्यान्डमा कपडा पसल सञ्चालन गरिरहेका थिए।

उनले ती युवतीलाई बेल्जियमको होटलमा हेल्परको काम लगाइदिने र मासिक एक लाखदेखि डेढ लाखसम्म तलब हुने भन्दै प्रलोभनमा पारेका थिए। खड्काले विभिन्न मिति र स्थानबाट आठ लाख ५४ हजार रुपैयाँ हजार लिएको मानव बेचबिखन अनुसन्धान ब्युरोले जनाएको छ। 

आफूलाई कमल बस्नेत नाम गरेका व्यक्तिमार्फत खड्काले २२ मे २०१९ मा नेपालको भैरहवाबाट भारतको गोरखपुर, कलकत्ता हुँदै कम्बोडिया र थाइल्याण्डको राजधानी बैंकक पुर्याएको पीडित युवतीले बताएको प्रहरीले जनाएको छ।

बैंकक पुर्याएपछि उनलाई खड्काको कोठामा १५ दिनसम्म राखेको, खड्काले नै चिनजान गराएका अर्का भारतीय नागरिक पर्विन्दर सिंह समेतले यौनशोषण गरेको प्रहरीले जनाएको छ। 

प्रहरीका अनुसार उनीहरुले यौनशोषण गरेको कुरा कसैलाई भनेमा युवतीलाई मारेर बेपत्ता पारिदिने धम्कीसमेत दिएका थिए।

पीडित युवतीलाई प्रतिवादीहरुले मलेसियाबाट हाजी साब भन्ने मानिसले बेल्जियम पठाउँछ भन्दै बैंककबाट मलेसिया पठाए। तर हाजी साबले बेल्जियम जाने कागजात नपुगेको बताए। त्यसपछि उनी मलेसियामा अलपत्र परिन्। 

उनी अलपत्र परेको केही समयमा मलेसियमा रहेका आफन्त सम्पर्कमा पुगिन्। आफन्तले १५ मार्च २०२० मा भारतको कलकत्ता हुँदै नेपाल फर्कन सफल भइन्। 

उनी नेपाल फर्किएपछि मानव बेचबिखन तथा ओसारपसार मुद्दामा २०७८ असोज १८ गते मानव बेचबिखन अनुसन्धान ब्युरोमा किटानी जाहेरी दरखास्त दिएकी थिइन्। 

उक्त घटनापछि हालसम्म फरार रहेका प्रतिवादी राजेन्द्र खड्कालाई ब्युरोबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा मिति २०७८ कात्तिक ४ पक्राउ गरेको हो। 

उनलाई प्रहरीले काठमाडौंको सिनामंगलमा लुकिछिपी बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको ब्युरोका सूचना अधिकारी प्रहरी उपरीक्षक अनुराग द्वबेदीले जनाएका छन्।

उनलाई काठमाडौं जिल्ला अदालतबाट दिन ४ को म्याद अनुमति लिई हाल मानव बेचबिखन तथा ओसापसार (नियन्त्रण) ऐन २०६४ अन्तर्गत आवश्यक थप अनुसन्धान कार्य भइरहेको द्वबेदीले बताए।

कात्तिक १०, २०७८ बुधबार १७:४४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।