मुद्दा नहेर्ने न्यायाधीशहरुविरुद्ध रिट दर्ता गर्ने तयारी
काठमाडौँ : बन्दीप्रत्यक्षीकरणको मुद्दासमेत सुनुवाइ नगरेको भन्दै १५ न्यायाधीशविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ताको तयारी भएको छ।
उन्नत नेपाल पार्टी, स्वतन्त्र राष्ट्रिय अभियान नेपाल र स्वतन्त्र राष्ट्रिय कानुन व्यवसायी अभियानले मुद्दा दर्ता गर्ने तयारी गरेको अधिवक्ता स्वागत नेपालले जानकारी दिए।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई भेटेर फर्किएका अधिवक्ता नेपालले बन्दीप्रत्यक्षीकरण जस्तो संवेदनशील मुद्दाको समेत सुनुवाइ नगरेको भन्दै प्रधानन्यायाधीशलाई आपत्ति जनाइसकेको र बिहीबार पनि सुनुवाइ नगरे मुद्दा दर्ताको तयारी गरेको जानकारी दिए।
‘तयारी पुग्यो भने भोलि नै मुद्दा दर्ता गर्छौ ,’नेपालले उकेरासँग भने,‘संवेदनशील विषयमा पनि श्रीमानहरूको ध्यान भएन।’
न्यायाधीशसँगै सिङ्गो नेपाल बार प्रधानन्यायाधीशविरुद्ध लागिरहेका बेला नेपालसहितका अधिवक्ताहरू कृष्ण प्रसाई, अनिल उपाध्याय, नवीन मैनालीलगायत १५ कानुन व्यवसायी आन्दोलनका नाममा मुद्दा नहेर्ने न्यायाधीशविरुद्ध मुद्दाको तयारीमा जुटेका हुन्।
कात्तिक १०, २०७८ बुधबार १७:११:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।